
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली पोर्ट प्रणालीको दुरुपयोग गरी अमेरिकी नागरिकलाई गैरकानुनी रूपमा नेपाली आवासीय भिसा उपलब्ध गराएको आरोपमा अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सन विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार महतोले कानुनबमोजिमको प्रक्रिया पूरा नगरी तथा अधिकार प्राप्त अधिकारीको निर्णयबिनै नेपाली पोर्ट प्रणालीमा रहेको विवरण परिवर्तन गर्दै अर्को व्यक्तिका नाममा जारी भएको आवासीय भिसा अमेरिकी नागरिक रोबिन्सनको नाममा एकीकृत गरेका थिए।
अनुसन्धानबाट उक्त कार्यका कारण सरकारी अभिलेख सच्याउने, केरमेट गर्ने, थपघट तथा हेरफेर गरी नेपाल सरकार र अध्यागमन विभागलाई हानि–नोक्सानी पुर्याइएको निष्कर्ष निकालिएको आयोगले जनाएको छ।
आयोगले राजिव महतोविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम तथा डिन जे रोबिन्सनविरुद्ध सोही ऐनको दफा २२ बमोजिम कारबाही र सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।








