सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुलबुलेस्थित भिजिट कर्णाली दोहोरी साँझ बाहिर सामान्य विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन्।
बिहीबार राति करिब १०:५५ बजे भएको घटनामा वीरेन्द्रनगर–४ कालागाउँ निवासी ३३ वर्षीय जीवनकुमार शाहीको टाउकोमा खुकुरी प्रहारबाट चोट लागेको प्रहरीले जनाएको छ। घाइते शाहीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ लगिएको छ। उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घटनामा संलग्न रहेका आरोपसँग प्रहरीले एक थान खुकुरीसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर–९ का १९ वर्षीय रोशन शाही, पञ्चपुरी नगरपालिका–८ का १८ वर्षीय भरत बोगटी र १६ वर्षीय सुमन नेपाली रहेका छन्।
घटनामा संलग्न भनिएका पञ्चपुरी नगरपालिका–५ का करिब २६ वर्षीय हरिष रोकाया भने फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर शाहीको कमाण्डमा सात सदस्यीय टोली खटिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









