२०८३ भदौ २८ , आइतबार

गुगलले ल्यायो एआईमा आधारित तस्बिर सिर्जना र सम्पादन टुल ‘गुगल पिक्स’



गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित तस्बिर सिर्जना तथा सम्पादन गर्ने नयाँ टुल ‘गुगल पिक्स’ सार्वजनिक गरेको छ। गत मेमा आयोजित गुगल आई/ओ २०२६ मा घोषणा गरिएको यो टुल गुगल वर्कस्पेस तथा प्रिमियम एआई प्रयोगकर्ताका लागि विश्वभर रोलआउट हुन थालेको हो।

गुगलको ‘नानो बनाना’ इमेज जेनेरेसन तथा एडिटिङ मोडेलमा आधारित गुगल पिक्सलाई क्यान्भा र एडोबी एक्सप्रेसजस्ता लोकप्रिय डिजाइन प्लेटफर्मको प्रतिस्पर्धीका रूपमा हेरिएको छ। गुगलका प्रोडक्ट म्यानेजर मेग ह्विटनबर्गरका अनुसार यसले एआईको प्रयोगमार्फत पोस्टर, फ्लायर, सामाजिक सञ्जाल पोस्ट तथा डिजिटल विज्ञापनलगायत सामग्री सहज रूपमा तयार गर्न सहयोग गर्नेछ।

गुगलका अनुसार पिक्सले ग्राफिक्स डिजाइनमा देखिने ‘प्रम्प्ट एन्ड प्रे’ अर्थात् प्रम्प्ट लेखेर अपेक्षित नतिजा आउने प्रतीक्षा गर्नुपर्ने झन्झटलाई कम गर्नेछ। प्रयोगकर्ताले सामान्य प्रम्प्टका आधारमा एउटै डिजाइनका विभिन्न संस्करण तयार गर्न र आफूलाई उपयुक्त विकल्प छनोट गर्न सक्नेछन्।

टुलमा रहेको ‘अब्जेक्ट सेग्मेन्टेसन’ प्रविधिमार्फत तस्बिरमा रहेका निश्चित वस्तु वा भाग छुट्याएर बाँकी तस्बिरमा असर नपर्ने गरी सार्न, रिसाइज गर्न वा सम्पादन गर्न सकिनेछ। यस्तै, तस्बिरका विशेष क्षेत्रमा टेक्स्ट कमेन्टमार्फत एकैपटक एक वा एकभन्दा बढी भागमा आवश्यक परिवर्तन गर्न सकिने सुविधा पनि छ।

तस्बिरमा रहेको टेक्स्टको फन्ट तथा डिजाइन यथावत् राखेर त्यसलाई सिधै सम्पादन वा अनुवाद गर्न सकिने गुगलले जनाएको छ। प्रारम्भिक चरणमा यो सुविधा २९ भाषामा उपलब्ध हुनेछ।

गुगल पिक्समार्फत तस्बिरलाई २के र ४के रेजोल्युसनसम्म अपस्केल गर्न सकिनेछ। साथै सामाजिक सञ्जाल, वेब, प्रिन्ट तथा अन्य डिजिटल प्लेटफर्मका लागि आवश्यक आकारमा तस्बिर क्रप गर्ने सुविधा पनि उपलब्ध छ।

प्रयोगकर्ताले कम्प्युटर, गुगल ड्राइभ वा गुगल फोटोजबाट फाइल इम्पोर्ट गरेर ‘pics.new’ वेबसाइट वा गुगल वर्कस्पेसका एपमार्फत काम सुरु गर्न सक्नेछन्। सहकर्मीहरूसँग लिंकमार्फत रियल टाइममा एउटै इमेजमा काम तथा सहकार्य गर्न सकिने सुविधा पनि यसमा समावेश गरिएको छ।

गुगलले पिक्सलाई छुट्टै वेब टुलका रूपमा मात्र नभई गुगल डक्स र गुगल स्लाइड्ससँग समेत एकीकृत गरेको छ। प्रयोगकर्ताले यी एपभित्र रहेको तस्बिरमा क्लिक गरेर विन्डो वा ट्याब परिवर्तन नगरी पिक्सको एडिटिङ टुल प्रयोग गर्न सक्नेछन्। आगामी केही सातामा यो सुविधा गुगल ड्राइभमा समेत उपलब्ध गराउने गुगलले जनाएको छ।

क्यान्भासँग प्रतिस्पर्धा
गुगल पिक्सलाई क्यान्भा र एडोबी एक्सप्रेसजस्ता स्थापित डिजाइन टुलको विकल्पका रूपमा प्रस्तुत गरिएको छ। यद्यपि, यसको कार्यशैली भने केही फरक छ। क्यान्भाले टेम्प्लेट तथा कला बिक्रीमार्फत कलाकार र डिजाइनरलाई रोयल्टी आर्जन गर्ने अवसर दिने बजार उपलब्ध गराउँदै आएको छ। एडोबी एक्सप्रेसले पनि प्रयोगकर्तालाई सुरुदेखि नै डिजाइन तयार गर्ने स्वतन्त्रता दिन्छ। यसको तुलनामा गुगल पिक्स एआई मोडेल र प्रम्प्टमा बढी केन्द्रित छ।

वर्कस्पेसबाट बाहिर नगई एआईमार्फत तस्बिर सिर्जना तथा सटीक सम्पादन गर्न सकिने भएकाले व्यावसायिक कार्यक्षेत्रमा समय बचत तथा उत्पादकत्व वृद्धि हुने गुगलको अपेक्षा छ।

कसले प्रयोग गर्न पाउने ?
गुगलका अनुसार यो सेवा मङ्गलबारदेखि विश्वभर रोलआउट हुन थालेको हो। गुगल एआई प्रो र अल्ट्राका व्यक्तिगत सब्सक्राइबर, गुगल एआई प्रो फर एजुकेसन प्रयोगकर्ता तथा गुगल वर्कस्पेसका बिजनेस स्ट्यान्डर्ड, बिजनेस प्लस, इन्टरप्राइज स्ट्यान्डर्ड र इन्टरप्राइज प्लस प्लानका ग्राहकले यो सुविधा प्रयोग गर्न पाउनेछन्।

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।