२०८३ भदौ २७ , शनिबार

एआईको बढ्दो प्रयोगसँगै विश्वभर मेमोरी चिप्सको अभाव, अमेजनका ग्याजेट महँगिए



कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकास र डाटा सेन्टरहरूको बढ्दो मागका कारण विश्वभर मेमोरी चिप्सको चरम अभाव देखिन थालेको छ। ‘मेमोरी क्रन्च’ भनिएको यस संकटको प्रत्यक्ष असर इलेक्ट्रोनिक्स उपकरणको मूल्यमा पर्न थालेको छ।

मेमोरी चिप्सको लागत बढेको भन्दै अमेजनले आफ्ना लोकप्रिय इलेक्ट्रोनिक्स उपकरणहरूको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले इको स्पिकर, फायर टीभी, किन्डल ई–रिडर र इरो राउटरलगायत उपकरणको मूल्य बढाएको हो। केही उत्पादनको मूल्य ६० प्रतिशतसम्म वृद्धि भएको बताइएको छ।

मूल्यवृद्धिको सबैभन्दा ठूलो असर अमेजनको लोकप्रिय ग्याजेट ‘इको डट’मा परेको छ। यसको मूल्य ४९.९९ अमेरिकी डलरबाट बढेर ७९.९९ डलर पुगेको छ। अर्थात्, इको डटको मूल्यमा ३० डलर थपिएको छ।

त्यस्तै, १६ जीबी क्षमताको किन्डल ई–रिडरको मूल्य पनि ४० डलरले बढेर १४९.९९ डलर पुगेको छ। स्ट्रिमिङ स्टिकदेखि घरायसी नेटवर्किङ उपकरणसम्मका विभिन्न उत्पादनमा मूल्यवृद्धि लागू गरिएको छ। बढ्दो उत्पादन लागत धान्न कठिन भएपछि मूल्य समायोजन गर्नुपरेको अमेजनले जनाएको छ।

मेमोरी चिप्सको बढ्दो लागतको असर अमेजनमा मात्र सीमित छैन। एप्पलले पनि मेमोरी चिप्सको मूल्य बढेको कारण आफ्ना केही उत्पादनको मूल्य समायोजन गरेको छ भने माइक्रोसफ्टले पनि एक्सबक्स हार्डवेयरमा मूल्यवृद्धि गरेको छ।

विशेषगरी क्लाउड सेवा प्रदायक तथा ठूला डाटा सेन्टरहरूले एआई पूर्वाधार निर्माणका लागि ठूलो परिमाणमा मेमोरी चिप्स खरिद गर्न थालेपछि बजारमा आपूर्ति संकट गहिरिएको हो। एआई प्रणाली सञ्चालनका लागि आवश्यक उच्च क्षमताका सर्भरमा ठूलो मात्रामा मेमोरी आवश्यक पर्ने भएकाले परम्परागत उपभोक्ता इलेक्ट्रोनिक्सका लागि उपलब्ध चिप्समा समेत दबाब बढेको छ।

जेपी मोर्गन ग्लोबल रिसर्चको रिपोर्टअनुसार, सन् २०२४ को सुरुदेखि २०२६ को अन्त्यसम्ममा डीआरएम (डाइनामिक र्‍यान्डम एक्सेस मेमोरी) को मूल्य ४०० प्रतिशत वा सोभन्दा बढीले बढ्न सक्ने अनुमान गरिएको छ।

यस संकटको सबैभन्दा ठूलो प्रभाव सस्तो तथा बजेट ग्याजेटमा परेको छ। अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्था आईडीसीका अनुसार मेमोरी चिप्सको अभावका कारण विश्वव्यापी रूपमा पीसी र स्मार्टफोनको आपूर्तिमा कमी आउन सक्नेछ। विशेषगरी कम मूल्यका स्मार्टफोनको बिक्रीमा उल्लेख्य गिरावट आउने जोखिम देखिएको छ।

ठूला क्लाउड प्रदायकहरूले दीर्घकालीन सम्झौतामार्फत मेमोरी चिप्सको मूल्य जोखिम व्यवस्थापन गर्न सके पनि आम उपभोक्तासँग बढ्दो लागतको प्रभावबाट जोगिने सीमित विकल्प मात्र छन्। बजार विश्लेषकहरूका अनुसार मेमोरी चिप्सको आपूर्ति संकट र त्यसबाट उत्पन्न महँगीको अवस्था सन् २०२७ अघि नै सहज हुने सम्भावना कम छ।

एआईको विस्तारसँगै बढिरहेको कम्प्युटिङ पूर्वाधारको मागले आगामी दिनमा मेमोरी चिप्सको बजारमा थप दबाब सिर्जना गर्न सक्ने भएकाले यसको प्रत्यक्ष असर कम्प्युटर, स्मार्टफोनदेखि घरायसी स्मार्ट डिभाइससम्मका उपभोक्ता इलेक्ट्रोनिक्समा देखिन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८३ भदौ ८ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।