२०८३ भदौ ३० , मंगलबार

डोल्पामा निःशुल्क आँखा शिविर, ४५ जनाको सफल शल्यक्रिया



डोल्पाको ठुलीभेरी नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरबाट स्थानीयवासी लाभान्वित भएका छन्।

जिल्ला अस्पताल दुनैमा गरिएको शल्यक्रियामार्फत ४० जना मोतिबिन्दुका बिरामीसहित ४५ जनाको आँखासम्बन्धी विभिन्न समस्याको सफल उपचार गरिएको छ।

शल्यक्रिया गरिएकामध्ये चार जनाको आँखामा पलाएको मासु तथा बोसो र एक जनाको अन्य आँखासम्बन्धी समस्याको उपचार गरिएको हो।

यसअघि ठुलीभेरी नगरपालिकाले नगरका सबै वडामा मोतिबिन्दु पहिचानका लागि भदौ १८ देखि २५ गतेसम्म छनोट शिविर सञ्चालन गरेको थियो। उक्त शिविरमा ४९१ जनाको आँखा परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा मोतिबिन्दुको शल्यक्रिया आवश्यक देखिएका ४२ जना र आँखामा मासु तथा बोसो पलाएका नौ जनासहित ५१ जनालाई जिल्ला अस्पताल दुनैमा शल्यक्रियाका लागि सिफारिस गरिएको थियो। आवश्यक परीक्षणपछि तीमध्ये ४५ जनाको शल्यक्रिया गरिएको हो।

शिविरका क्रममा करिब १७० जनालाई नजिकको दृष्टि सुधारका लागि निःशुल्क चस्मासमेत वितरण गरिएको आयोजकले जनाएको छ।

प्रतिकूल मौसमका बाबजुद नगरपालिकाका सबै वडामा शिविर सञ्चालन गरिएको जनस्वास्थ्य निरीक्षक राजनकुमार डाँगीले बताए। स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. सिजन रावलले शिविरले ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराएको बताए।

उनले यस्ता सेवा जिल्लाका अन्य स्थानीय तहमा समेत विस्तार गर्न सम्बन्धित निकायलाई आग्रह गरे।

ठुलीभेरी नगरपालिकाका नगर प्रमुख स्वर्णकुमार बुढाले आफ्नै जिल्लामा निःशुल्क शल्यक्रिया सेवा पाएपछि ज्येष्ठ नागरिक तथा अन्य बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घटेको बताए। उनले शिविर सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरे।

प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।