२०८३ साउन १२ , मंगलबार

सुर्खेतमा मुस्ताङ जिप दुर्घटना : चालकसहित १२ जना घाइते, पाँच जनाको अवस्था गम्भीर



सुर्खेतको लेकबेशी नगरपालिका–५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुवाहक मुस्ताङ जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।

दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब १० बजे डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ख ५४० नम्बरको मुस्ताङ जिप उकालो सडकमा आफैं अनियन्त्रित भई पल्टिएको हो।

दुर्घटनामा चालक लेकबेशी नगरपालिका–४ निवासी २३ वर्षीय दिपेश पुनको खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ।

यस्तै, लेकबेशी–६ निवासी २२ वर्षीया सुष्मा कार्की, २६ वर्षीया तिल्सरा सिरिस, करिब ७० वर्षीया अमृता कार्की र करिब ७० वर्षीया खगिसरा विक गम्भीर घाइते भएका छन्। सुष्माको शरीरमा भित्री चोट लागेको छ भने तिल्सरा, अमृता र खगिसराको छाती तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि माया नर्सिङ होम, सुर्खेत पठाइएको छ।

दुर्घटनामा करिब ७ वर्षीय दर्शन विकको मुखमा, २५ वर्षीया जुना सुनारको घाँटीमा र ३० वर्षीया उमा रानाको टाउकोमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै, २३ वर्षीया मिना परियार, २८ वर्षीया गीता सुनार, २७ वर्षीया दिलमाया विक र २८ वर्षीया समीक्षा विक सामान्य घाइते भएका छन्। उनीहरूको दशरथपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट नेटाबाट प्रहरी सहायक निरीक्षक मोहन चन्दको नेतृत्वमा चार जना तथा इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक मदन शाहीको नेतृत्वमा नौ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।