
उपल्लो डोल्पामा नेपाल–चीनबीचको व्यापार विस्तारका लागि यही साउन २५ गतेदेखि मोरिम्ला नाका खुल्ला गरिने भएको छ।
चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँगको छलफलपछि साउन २५ देखि भदौ १३ गतेसम्म सीमाकाे क्षेत्र खोल्ने निर्णय भएको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिए।

उपल्लो डोल्पामा नेपाल–चीनबीचको व्यापारकाे मोरिम्ला नाका क्षेत्र
उपल्लो डोल्पाको तीन वटा पालिकाका लागि मोरिम्ला नाका हरेक वर्ष एक पटक खोलिँदै आएको छ। यस वर्ष दुई हजार २ सय जनाले सीमा पार व्यापार गर्नका लागि ‘पास’ लिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए।
नाका सञ्चालन अवधिमा पालिकाको मागअनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सीमा क्षेत्रमा खटाइने भएको छ। अघिल्लो वर्ष मोरिम्ला नाका १५ दिनका लागि मात्रै खुला गरिएको थियो।
विगतदेखि नै डोल्पावासीले मोरिम्ला नाकाबाट दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र विभिन्न मेसिनरी सामग्री चीनबाट खरिद गर्दै आएका छन्। भौगोलिक रूपमा विकट डोल्पामा नेपाली सामान खरिद गर्दा ढुवानी खर्च महँगो पर्ने भएकाले डोल्पावासीले एक वर्ष पुग्ने गरी सस्तो मूल्यमा चिनियाँ सामग्री किन्ने गरेका छन्।









