सुर्खेतको वीरेन्द्रनगरमा ‘सशक्त महिला, सबल अर्थतन्त्र, समृद्ध कर्णाली’ भन्ने मूल नारासहित लघु, साना तथा मझौला उद्यम (MSME) दिवस-२०२६ को अवसरमा प्यानल छलफल र महिला उद्यमीका उत्पादन प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उद्घाटन गरेको थिए ।‘सशक्त महिला, समृद्ध नेपाल (EWPN)’ कार्यक्रमको सहकार्यमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको हो।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका खगेन्द्र कुमार खत्रीले कर्णालीमा उद्यमशीलताको परम्परा अझै मजबुत बन्न नसकेको उल्लेख गर्दै नयाँ सोच, प्रविधि र नवप्रवर्तनमा आधारित उद्यम आवश्यक रहेको बताए।
अरूले गरिरहेको व्यवसायको नक्कल गर्ने प्रवृत्तिभन्दा स्थानीय स्रोत–साधनको उपयोग गर्दै फरक र सिर्जनशील व्यवसायतर्फ लाग्नुपर्नेमा उनले जोड दिए। नयाँ उद्यमीलाई सहुलियतपूर्ण कर्जा, सीप विकास, बजार पहुँच र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सके रोजगारी सिर्जना र आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।
कार्यक्रममा कुनै पनि व्यवसायमा सफलता प्राप्त गर्न लगन, धैर्य र निरन्तरता आवश्यक पर्ने हेल्थ कन्सर्न प्रालिकी अध्यक्ष पवित्रा घिमिरेले बताइन्। उद्यम सञ्चालनका क्रममा चुनौती आउनु स्वाभाविक भए पनि समाधान खोज्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।
महिला उद्यमीका लागि परिवार, विशेषगरी श्रीमान् र परिवारको सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै उनले ग्राहकको आवश्यकता बुझेर गुणस्तरीय सेवा तथा वस्तु उपलब्ध गराउन सके व्यवसाय दीगो हुने उनको भनाई थियो ।
उद्यमशीलता आर्थिक गतिविधिमात्र नभई सामाजिक रूपान्तरणको माध्यम पनि भएको छ । महिला तथा युवालाई सीप, वित्तीय पहुँच, डिजिटल प्रविधि र बजारसँग जोड्न सके उद्यमको दिगोपन बढ्ने र स्थानीय उत्पादनलाई ब्रान्डिङ, प्याकेजिङ र बजार प्रवर्द्धनमार्फत प्रतिस्पर्धी बनाउनुपर्ने डोल्मा फाउन्डेसनका विज्ञ सरोज नेपालले जोड दिएका थिए ।

महिला उद्यमी सरिता रावलले महिला उद्यमीले उत्पादन गरेपछि बजार खोज्न सबैभन्दा ठूलो चुनौती हुने बताइन्। स्थानीय उत्पादनको बजारीकरण, ब्रान्डिङ र प्रवर्द्धनमा सरकार तथा निजी क्षेत्रले प्रभावकारी सहकार्य गर्नुपर्ने उनको भनाई थियो। उत्पादनको गुणस्तर सुधार, आकर्षक प्याकेजिङ र डिजिटल माध्यमबाट बजार विस्तार गर्न सके स्थानीय उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने उनले बताइन ।
महिला उद्यमीलाई सीप विकास, सहुलियतपूर्ण कर्जा र नियमित बजार पहुँच सुनिश्चित गर्न सके उद्यम विस्तारसँगै रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई समेत बल पुग्ने उनको भनाई थियो । उक्त व्यानल छलफल कार्यक्रमको सहजीकरण पत्रकार सिर्जना बुढाथोकीले गरेकी थिइन् ।
कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने प्रयास सकारात्मक रहेको भन्दै श्रम र उत्पादनको सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने बताए। साना उद्यमलाई बजार, प्रविधि र वित्तीय पहुँचसँग जोड्न सके प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
यस्तै, कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा उद्यम गर्ने वातावरण विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उद्यम गरिरहेका व्यक्तिलाई प्रोत्साहन गर्दै नयाँ उद्यमीलाई समेत अवसर सिर्जना गर्ने नीति लिइएको उल्लेख गर्दै उनले स्थानीय उत्पादनलाई विद्यालयको दिवा खाजा कार्यक्रमलगायत विभिन्न क्षेत्रमा प्रयोग गर्ने प्रयास भइरहेको जानकारी दिए। व्यवसायमा निरन्तरता, गुणस्तर र मेहनत कायम राख्न सके सफलता प्राप्त गर्न समय नलाग्ने उनको भनाइ थियो।
सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले मन्त्रालयले कर्णालीका उद्यमीलाई सम्मान, सीप विकास तालिम, प्रविधि हस्तान्तरण तथा आवश्यक उपकरण सहयोग गर्दै आएको जानकारी दिइन्।
उत्पादन वृद्धि गर्न आधुनिक प्रविधिको प्रयोग, उत्पादनको गुणस्तर सुधार र व्यावसायिक रूपमा ठूलो परिमाणमा उत्पादन गर्नुपर्नेमा उनले जोड दिइन्। साथै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने गरी सरकार, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। कार्यक्रममा महिला उद्यमीहरूले उत्पादन प्रदर्शनीसमेत गरेका थिए।









