गगनकुमार थापाले कर्णालीको विकास महँगो र चुनौतीपूर्ण भएकाले प्रदेशलाई सशक्त बनाउन संविधान र कानुनमै परिवर्तन आवश्यक रहेको बताएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले काठमाडौं जस्तो सहज पूर्वाधार र आम्दानीको आधार कर्णालीमा नभएकाले विशेष व्यवस्था मार्फत स्रोत सुनिश्चित गर्नुपर्ने बताए। ‘संविधान र कानुन परिवर्तन गरेर कर्णालीलाई प्राथमिकता दिँदै यहाँ पैसा ल्याउने र खर्च गर्न सक्ने बनाउनु पर्छ,’ उनले भने।
थापाले विगतमा विभिन्न राजनीतिक समझदारीका कारण अपेक्षाअनुसार काम गर्न नसकिएको उल्लेख गर्दै अब पाँच वर्षको स्पष्ट जनादेश पाए कांग्रेसले परिणाम देखाउने दाबी गरे। ‘हामीले पाँच वर्ष देऊ, काम गर्छौं भन्दा यत्रो वर्ष के गरिस् भन्ने गलत प्रश्न उठाइन्छ। विगतमा धेरै कम्प्रमाइज गर्नुपर्यो, अब स्पष्ट बहुमतमा काम गर्छौं,’ उनले भने।
उनले प्रधानमन्त्रीका सबै उम्मेदवारलाई एउटै मञ्चमा आएर सार्वजनिक बहस गर्न चुनौतीसमेत दिए।
विकासका लागि दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको बताउँदै उनले गर्भावस्थादेखि नै बालबालिकामा लगानी गर्नुपर्ने धारणा राखे। ‘कर्णालीका आमा, पोषण र शिक्षामा विशेष लगानी आवश्यक छ। यार्सागुम्बा, जुम्लाको स्याउ र मार्सी चामलको चर्चा मात्र गरेर विकास हुँदैन,’ उनले स्पष्ट पारे।
‘नयाँ दल’प्रति कटाक्ष गर्दै थापाले नाराबाजी र प्रदर्शनले मात्र परिवर्तन सम्भव नहुने टिप्पणी गरे। २०६४ सालको सन्दर्भ उल्लेख गर्दै उनले मतदातालाई पुनः भ्रममा नपर्न आग्रह गरे।
कांग्रेस बदलिएर आएको दाबी गर्दै उनले अब देशलाई द्वन्द्वतर्फ जान नदिन सबै कार्यकर्तालाई घरघरमा पुगेर मतदातासँग संवाद गर्न निर्देशन दिए।











प्रतिक्रिया दिनुहोस्