
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्ने भएका छन्। पदभार सम्हालेपछि पहिलोपटक हुन लागेको यस छलफललाई अर्थपूर्ण र नीतिगत रूपमा महत्वपूर्ण मानिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफल दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। बैठकमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत-साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरूको समाधान खोज्ने विषयमा केन्द्रित रहने बताइएको छ।
यसका साथै राष्ट्रिय प्राथमिकताका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्य कसरी अझ सुदृढ बनाउन सकिन्छ भन्ने विषय पनि मुख्य एजेन्डाका रूपमा रहनेछ।
बैठकमा देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयास गरिनेछ।
यसअघि प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाका सांसदहरूसँग प्रदेशगत रूपमा छलफल गरिसकेका छन् भने समानुपातिक सांसदहरूसँग पनि छुट्टै अन्तरक्रिया गरेका थिए।











प्रतिक्रिया दिनुहोस्