२०८३ साउन १३ , बुधबार

मंगलबहादुर शाहीले लिए कर्णाली मुख्यमन्त्रीको शपथ



कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नेकपा संसदीय दलका नेता शाही एमालेको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए। ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका सभामुखबाहेक ९ जना र नेकपाका १४ जना गरी २३ सांसदको समर्थन प्राप्त भएपछि उनी संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्।

शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्।

केन्द्रमा नेकपा र एमालेबीच भएको तीनबुँदे राजनीतिक सहमतिपछि सात प्रदेशमध्ये कर्णालीबाट सत्ता समीकरण परिवर्तनको प्रक्रिया सुरु भएको हो। सोही सहमतिअनुसार यसअघि एमालेका तर्फबाट मुख्यमन्त्री रहेका यामलाल कँडेलले पदबाट राजीनामा दिएका थिए।

मुख्यमन्त्री शाहीले अब चाँडै मन्त्रिपरिषद् विस्तार गरी नयाँ सरकारलाई पूर्णता दिने तयारी गरिरहेका छन्।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।