२०८३ असोज १ , बिहीबार

सोताङ गाउँपालिका उपाध्यक्ष र छोराविरुद्ध ४५ हजार घुसको भ्रष्टाचार मुद्दा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाका उपाध्यक्ष अन्जु नाछिरिङ राईसहित दुई जनाविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सोताङ गाउँपालिकामा सञ्चालन भएको ९० कार्यदिनको ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ माग गरेको उजुरी परेको थियो।

अनुसन्धानका क्रममा उपाध्यक्ष राईले तालिमको प्रशिक्षकको रूपमा काम दिलाउने तथा तालिममा सहजीकरण गरेबापत सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस मागी आफ्नो छोरा सुनिल नाछिरिङ राईको बैंक खातामा रहेको क्यूआर कोडमार्फत रकम जम्मा गर्न लगाएको खुलेको आयोगले जनाएको छ।

आयोगले उपाध्यक्ष अन्जु नाछिरिङ राईको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएको भन्दै ४५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ।

त्यस्तै, सुनिल नाछिरिङ राईले आमासँगको मिलेमतोमा सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुसबापत रकम लिई उपाध्यक्ष राईसमेतका निम्ति उपलब्ध गराएको तथा प्रयोग–प्रचलनमा ल्याएको आयोगको दाबी छ।

सुनिलविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(२) बमोजिम कसुर कायम गरी ४५ हजार रुपैयाँ बिगो तथा कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।