२०८३ भदौ २७ , शनिबार

कर्णाली सरकार गठनमै अन्योल, मुख्यमन्त्री शाही विश्वासको मत लिदैं



कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

नेकपा एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्। यसका लागि कर्णाली प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्ने तय भएको छ।

मुख्यमन्त्री शाही विश्वासको मत लिने तयारीमा रहे पनि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटको विषय भने अझै टुंगिन सकेको छैन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच मन्त्रालयको संख्या तथा जिम्मेवारी बाँडफाँटमा सहमति नजुट्दा सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। हाल कर्णाली सरकार मुख्यमन्त्री शाहीको नेतृत्वमा एक सदस्यीय अवस्थामा छ।

यसैबीच, एमालेसँगको छलफल टुंगिनुअघि नै मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव दर्ता गराएको भन्दै सत्ता साझेदार दलभित्रै असन्तुष्टि बढेको छ। एमालेका एक उच्च स्रोतका अनुसार मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दै मुख्यमन्त्रीले एकलौटी रूपमा विश्वासको मतको प्रस्ताव अघि बढाएपछि गठबन्धनभित्रको राजनीतिक समीकरण थप पेचिलो बनेको हो।

एमाले स्रोतका अनुसार छलफल निष्कर्षमा नपुग्दै विश्वासको मतको प्रस्ताव दर्ता गराइनुले सत्ता गठबन्धनभित्र अविश्वासको वातावरण सिर्जना भएको छ। एमालेले समर्थन नगरे पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहयोगमा विश्वासको मत लिन सकिने आकलन मुख्यमन्त्री पक्षमा रहेको हुन सक्ने स्रोतको दाबी छ। यद्यपि, एमालेले यस विषयलाई गम्भीर रूपमा लिँदै आगामी कदमबारे आन्तरिक छलफल गरिरहेको जनाएको छ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ। सत्ता साझेदार नेकपा र एमालेसँग २४ सांसदको समर्थन रहेकाले मुख्यमन्त्री शाहीले विश्वासको मत सहजै प्राप्त गर्ने अंकगणित देखिन्छ। तर, एमालेभित्र देखिएको असन्तुष्टिका कारण विश्वासको मत लिनुअघि नै कर्णालीको सत्ता राजनीतिमा नयाँ मोड आउन सक्ने आँकलन गरिएको छ।

मुख्यमन्त्री शाहीले भने विश्वासको मत लिएलगत्तै सत्ता साझेदार दुई दलबीच समझदारी कायम गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउँदै आएका छन्।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।