साउथ एसियन स्कालर्स एकेडेमी सुर्खेतले आइएसओ २१००१ प्राप्त गरेको छ । ग्रीनविच विश्वविद्यालय लण्डनद्वारा यो उपाधि पाउने साउथ एसियन स्कालर्स एकेडेमी कर्णालीकै पहिलो विद्यालय हो । शुक्रबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणाली मानक (इएमओएस) का प्रतिनिधिहरुले आइएसओ २१००१ को प्रमाणपत्र विद्यालयलाई हस्तान्तरण गरे ।

विद्यालयका प्रिन्सिपल छत्र बडुवालले इएमओएसका सम्पूर्ण मापदण्ड पूरा गरिएपछि आइएसओ प्रमाणपत्र प्राप्त भएको बताए । गुणस्तरीय शिक्षा, उत्कृष्ट व्यवस्थापन र नतिजाका कारण हामीले यो उपाधि प्राप्त गरेका छौं,’ प्रिन्सिपल बडुवालले भने, यो महत्वपूर्ण उपलब्धी विद्यालयको मात्रै गौरवको विषय होइन्, समग्र कर्णालीको लागि गौरवको विषय हो ।’
शैक्षिक सेवाहरूको गुणस्तरमा वृद्धि, विद्यार्थी, शिक्षक र व्यवस्थापकबीचको सम्वन्ध सुधार, विद्यालयको विश्वसनीयतामा बृद्धि, समावेशी र समान शिक्षा र नवीनता र दीर्घकालीन सफलतालाई प्रोत्साहन गर्न आइएसओले आफूहरुलाई प्रेरणा मिलेको बताए । आवश्यक सबै सुचकहरु पूरा गरेपछि यो सफलता प्राप्त गरेका हौं,’ उनले भने, कर्णालीले गौरव गर्नलायक उत्कृष्ट शिक्षालय बनाउन पाउँदा धेरै खुशी भएका छौं ।’
२०५९ सालमा टीनको छाप्रोबाट सुरु भएको यो विद्यालयमा अहिले उत्कृष्ट भौतिक संरचना छन् । कक्षा १२ सम्म पढाई हुने विद्यालयमा २७ सय विद्यार्थीका साथै १८६ जना शिक्षक–कर्मचारीहरु छन् ।
मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले विद्यालयले आइएसको प्राप्त गर्नु कर्णाली प्रदेश र नेपाललाई शैक्षिक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनु भएको बताए । उनले यो उपाधिले कर्णालीमा पनि सर्वोत्कृष्ट विद्यालय रहेछन् भन्ने देखाएको बताए । कर्णालीमा पनि सर्वोत्कृष्ट शैक्षिक संस्थाहरु छन् भन्ने यसले प्रमाणित गरेको छ,’ उनले भने, विश्वस्तरमा प्रतिष्पर्धी शैक्षिक जनशक्ति उत्पादन गर्न यसले सहयोग पुर्याउँछ ।
विद्यालयका अध्यक्ष गणेश अधिकारीले आइएसको गरिमालाई बचाउँदै अझै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा यसलाई अघि बढाउने बताए । सम्पूर्ण मापदण्डहरु पूरा गरेर हामीले यो उपाधि पाएका छौं,’ उनले भने, आगामी दिनमा अझै उत्कृष्ट कामहरु गर्नेछौं ।’
उनले एसइइ र कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने गरेको बताए । उनले जाजरकोट केन्द्रविन्दू भएर गएको भूकम्पपछि त्यहाँका पीडित बालबालिकाहरुलाई निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको, सुर्खेतस्थित सरकारी विद्यालयहरुमा अध्ययनरत न्यून आय भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोशाक वितरण सामाजिक उत्तरदायित्व अन्तर्गत वितरण गर्ने गरिएको बताए ।
विद्यालयले मानव सेवा आश्रमको भवन निर्माणका लागि छ लाख ५१ हजार उपलब्ध गराएको पनि जनाएको छ । सासाले अहिले ज्ञानसिन्धु कलेज, काञ्जिरोवा पाठशाला, गुरुकुल एजुकेशन फाउण्डेशनलगायतका शैक्षिक संस्थाहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।
गिरीलाई सम्मान
साउन एसियन स्कालर्स एकेडेमीले जगदम्वा श्री पुरस्कारबाट सम्मानित भएका वरिष्ठ कलाकार प्रेमदेव गिरीलाई सम्मान गरेको छ । सुर्खेतबाट कलाकारिता गर्दै आएका गिरीलाई मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्वा श्री पुरस्कार दिएको थियो ।
कलाकारितामार्फत कर्णालीको पहिचान र यहाँको कलाकारितालाई देश–विदेशमा पुर्याउन महत्वपूर्ण योगदान दिनु भएकाले विद्यालयकातर्फबाट सम्मान गरेका हौं,’ विद्यालयका प्रिन्सिपल बडुवालले भने ।











प्रतिक्रिया दिनुहोस्