
चौकुनेका साना टोलदेखि दुर्गम डाँडासम्म उनी नै ‘डाक्टरसाब’ हुन् । उनी भन्छन्, “सबैभन्दा खुसी दिने भनेकै दाँत दुखेर रुँदै आएका बिरामी उपचार गरेर हाँस्दै घर फर्किएको पलले दिने गरेको छ ।”
मानव जीवनमा स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण सवाल हो । मानिस कहिल्यै स्वास्थ्यको मामिलामा सम्झौता गर्न सक्दैन । बिरामी हुँदा सबैभन्दा पहिले हाम्रो विश्वास डाक्टर र स्वास्थ्यकर्मीप्रति जान्छ । सहरका मानिसका लागि विकल्प धेरै होलान्, तर दुर्गम गाउँका नागरिकका लागि अस्पताल भनेको स्वास्थ्य चौकी हो र डाक्टर भनेकै त्यहाँका स्वास्थ्यकर्मी ।
धेरैका लागि स्वास्थ्य चौकी एउटा सरकारी सेवा हो । कहिले जानुपर्ने बाध्यता, कहिले औपचारिकता । तर चौकुने गाउँपालिकाका लागि त्यो एउटा आशाको केन्द्र हो । जहाँ गुटु स्वास्थ्य चौकी छ, अनि त्यहाँ छन् गगन सिंह पाण्डे ।
उनी एक साधारण सरकारी कर्मचारी मात्र होइनन्, चौकुनेका लागि उनी ‘मान्छेझैँ देवता’ जस्ता छन् । जसले आकाश खुलाउन सक्दैनन् तर आँखा चिम्लेर विश्वास गर्न सकिने व्यक्ति हुन् । बिरामीको दुखाइ आफ्नो बनाउने, गाउँलेको आँसु पुछिदिने र सेवा दिन घरदैलो पुग्ने यस्तो स्वास्थ्यकर्मी यति दुर्लभ हुन्छन् कि उनी आफैँ प्रेरणा बनेका छन् ।
सानो घर, ठुलो सपना
२०३२ साल मङ्सिर १४ गते, बर्दिया जिल्लाको गुलरिया नगरपालिका–४ मा एक सामान्य परिवारमा जन्मिएका गगन, आमा कमला देवी पाण्डेको कोखबाट जन्मिएका थिए । उनका बुबा पनि स्वास्थ्यकर्मी थिए । सायद सेवा भावना उनको रगतमै थियो ।
तर अभाव अझै पछ्याइरहेको थियो । उनलाई पढाइ छोडेर रोजगारीको बाटो समाउनु बाध्यता बन्यो । सिएमए सकिएपछि जीवनले उनलाई गाउँ–गाउँ दौडाउने बाटो देखायो ।
बाल्यकालमै उनले आर्थिक अभाव झेल्न बाध्य भए । घरको जेठो सन्तानको जिम्मेवारी, घरको चाप, अनि पढ्नुपर्ने तिर्खाले उनलाई समयभन्दा अघि परिपक्व बनायो । उनी सधैँ कक्षामा प्रथम हुन्थे । कक्षा ८ मा गाउँकै विद्यालयबाट बोर्ड टप गरेका पाण्डेले माध्यमिक शिक्षा भने गुलरियाको बङ्गलामुखी माध्यमिक स्कुलबाट २०४९ सालमा प्रथम श्रेणिबाट एस.एल.सी. पास गरे । त्यस्तै भारतको नैनिताल बाट आई.एस.सी. पास गरेको हुन् ।
उनी उच्च शिक्षा अध्ययन गर्न नेपाल फर्किए । नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिएसस्सि पढ्नको लागि भर्ना भए र सँगै सिएमए पनि सुरु गरे ।
तर अभाव अझै पछ्याइरहेको थियो । उनलाई पढाइ छोडेर रोजगारीको बाटो समाउनु बाध्यता बन्यो । सिएमए सकिएपछि जीवनले उनलाई गाउँ–गाउँ दौडाउने बाटो देखायो ।
जहाँ दुखाइ हुन्छ, त्यही पुग्छन् गगन
२०५६ सालमा लोकसेवा आयोग पास गरेपछि सल्यानको स्विकोट गाविसमा अहेब पदमा नियुक्ति लिए । त्यसको तीन बर्षपछि चौकुने गाउपालिकाको बिजौरा स्वास्थ्य चौकिमा आएपछि १३ वर्षसम्म चौथो तहमा रहेर काम गरे । अनि चौकुनेसँगको सम्बन्ध सुरु भयो ।
बिरामीका घर गए, सहारा बने । चौकुने बासीका लागि उनले त्यो विश्वास जिते, जुन सहरका डाक्टरले पनि कहिल्यै जित्न सक्दैनन् । चौकुने प्रतिको माया र साइनो बिजौराले जोडेको हो भन्छन् पाण्डे ।
चौकुनेभित्रका कठिन ठाउँ, अप्ठ्यारा बस्ती, अलपत्र परेका बिरामी त्यहाँ पुग्छन् गगन । उनी त्यस्ता कर्मशील पात्र हुन्, जसले हेल्थ असिस्टेन्टको आन्तरिक परीक्षा पास गरे, अनि पञ्चपुरी नगरपालिकाको छाप्ने स्वास्थ्य चौकीमा १८ महिना सेवा गरेका पाण्डे ।
जनस्वास्थ्य निरीक्षक भए, अनि चौकुनेमै फर्किए–फेरि आफूले माया गरेको ठाउँमा । निरीक्षकका रूपमा चौकुने गाउँपालिकामा दुई वर्ष बिताए । उनी २०७९ देखि गुटु स्वास्थ्य चौकिमा इन्चार्जको रूपमा कार्यरत छन् । चौकुनेका साना टोलदेखि दुर्गम डाँडासम्म उनी नै ‘डाक्टरसाब’ हुन् । उनी भन्छन्, “सबैभन्दा खुसी दिने भनेकै दाँत दुखेर रुँदै आएका बिरामी उपचार गरेर हाँस्दै घर फर्किएको पलले दिने गरेको छ ।”
कोरोना : नेतृत्व र समर्पणको परीक्षा
कोभिड–१९ महामारीको कठिन समयमा जब धेरै स्वास्थ्यकर्मी जोखिमबाट पछि हटे, चौकुने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख पाण्डे भने अगाडि बढे ।
स्वास्थ्य सुरक्षा मात्र नभई जनताको मनोबल र विश्वास जोगाउने जिम्मेवारी पनि उनले सम्हाले । निगरानी, परीक्षण, क्वारेनटिन व्यवस्थापनदेखि जोखिममा परेका समुदायहरूसम्म स्वास्थ्य सेवा पु¥याउन उनी निरन्तर सक्रिय रहे ।
“महामारीको त्यो कठिन घडीमा हामीले एक जना पनि गुमाउनुपरेन, यही सबैभन्दा ठुलो सन्तोष हो,” पाण्डे सम्झन्छन् । उनको समर्पणले चौकुनेमा महामारी नियन्त्रण मात्रै भएन, जनविश्वास समेत मजबुत बनेको उनी बताउँछन् ।
पीडादायी सम्झना, अविस्मरणीय सिकाइ
महामारीको बेला जनताको विश्वास जितेका स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेको जीवनमा केही यस्ता घटनाहरू पनि छन्, जसले उनीलाई भित्रदेखि झस्काएका छन् ।
“सबै कथा उज्यालो हुँदैनन्,” उनी भन्छन् । चौकुनेमा सुविधा सम्पन्न अस्पतालको अभावले गर्दा एक गर्भवती आमाको ज्यान जोगाउन नसकेको पीडा आजसम्म उनको मनमा बल्झिएको छ । आमाले शिशुलार्ई जन्म दिइन्, तर अत्यधिक रक्तस्रावका कारण आफैँ बितिन् । एक महिनापछि त्यो नवजात शिशुको पनि मृत्यु भयो ।
“म बिरामीको घरमा गएर सहयोग मागेँ, तर परिवारले मलाई सुनेनन् । त्यो बच्चा आज पनि सपनामा आउँछ, त्यो आमा अझै आँखामा बाँचिरहेकी छन्,” उनी भावुक बन्छन् । यही घटना उनको संवेदनशीलता र जिम्मेवारीप्रति झनै सचेत बनाएको उनी बताउँछन् ।
आगामी यात्रा : स्वास्थ्य, शिक्षा र समर्पण
स्वास्थ्यकर्मी पाण्डेको सपना सानो छैन । दुर्गम बस्तीका आमाहरूको पोषण सुधार गर्न, बालबालिकाको नियमित स्वास्थ्य परीक्षण गर्न र प्रत्येक विद्यालयमा स्वास्थ्य शिक्षा पु¥याउन उनले योजना बनाएका छन् ।
चौकुनेको गुटुमा उनले डिजिटल स्वास्थ्य सेवा सुरु गरेका छन् । जहाँ सामान्य परामर्शदेखि स्वास्थ्यसम्बन्धी सेवा सुरु गरिसकेका छन् । हामीले राजनीतिमा पनि आउने योजना छ ? भन्दा उनी मुस्कुराउँछन्, केही नबोली । तर उनको मौनताले भन्छ । “म जनताको सेवामा छु, अझै धेरै गर्न बाँकी छ ।”
चौकुनेको आत्मा बनेका गगन
उमेरले ५० वर्ष पार गरिसके पनि गगन सिंह पाण्डेको जोस आज पनि २५ वर्षे युवाजस्तै छ । चौकुने गाउँपालिकाका स्वास्थ्य इन्चार्ज प्रमुख पाण्डे दिनहुँ बस्ती चहार्छन्, विद्यालय पुग्छन्, स्वास्थ्य शिविर सञ्चालन गर्छन् ।
कहिले रुकुम, कहिले हुम्ला दुर्गमता र थकाइ उनलाई थाम्दैन । उनी सधैँ सिक्न तयार हुन्छन् । बिरामीको आँखामा आशा देख्ने गगन कहिले कहीँ रोग छुटाउँदैनन् । बिरामीको पीडा उनले आफ्नै दुःखझैँ आत्मसात् गर्छन् । आज चौकुनेमा कुनै पनि स्वास्थ्य समस्या उत्पन्न हुँदा सबैभन्दा पहिले सम्झिने नाम हो, गगन सिंह पाण्डे ।
उनी केवल स्वास्थ्यकर्मी मात्र होइनन्, चौकुनेको भरोसा, दुःखका बेलामा साथ दिने व्यक्ति र आशाको अनुहार बनिसकेका छन् । स्वास्थ्य निर्देशनालयको कार्यक्रमहरूमा रुकुम पश्चिम, दैलेख, हुम्ला लगायत विभिन्न जिल्लामा गएर अनुभव आदान प्रदान गरिसकेका छन् । आफ्नो जीवनको प्रेरणाको श्रोत भने आफ्नो स्वास्थ्यकर्मी बुवालाई मान्ने गरेका उनी बताउँछन् ।










प्रतिक्रिया दिनुहोस्