हुम्ला जिल्लाका ७ वटा सामुदायिक विद्यालय राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका छन्।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार ती विद्यालयहरू कार्यक्रमका लागि स्वीकृत भएका हुन्।
मन्त्रालयका अनुसार जिल्लाका सातै स्थानीय तहबाट ईमिस (EMIS) प्रणालीमार्फत विद्यालयहरूले अद्यावधिक गरेको भौतिक सर्वेक्षण विवरणका आधारमा तीन प्रकारका कार्यक्रमका लागि विद्यालय छनोट गरिएको हो।
जसअनुसार आठकोठे भवन निर्माणका लागि १ वटा, चारकोठे भवन निर्माणका लागि १ वटा र दुईकोठे भवन निर्माणका लागि ५ वटा विद्यालय परेका छन्।
छनोटमा परेका विद्यालयहरू सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट दुई–दुई वटा, नाम्खा, सर्केगाड र ताजाकोट गाउँपालिकाबाट एक–एक वटा रहेका छन्।
सिमकोट गाउँपालिकाबाट बालमन्दिर माध्यमिक विद्यालय सिमकोट र शैपाल हिमाल माध्यमिक विद्यालय स्याडा छनोटमा परेका छन्। खार्पुनाथ गाउँपालिकाबाट हुम्ला माध्यमिक विद्यालय राया र शंकर माध्यमिक विद्यालय थाली समेटिएका छन्।
यस्तै, नाम्खा गाउँपालिकाबाट नाम्खुम महामाया गुम्बा याल्वाङ, सर्केगाड गाउँपालिकाबाट कोट माध्यमिक विद्यालय रोडिकोट र ताजाकोट गाउँपालिकाबाट धर्मोदय माध्यमिक विद्यालय मैला छनोटमा परेका छन् ।
मन्त्रालयका अनुसार आठकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ७२ लाख रुपैयाँ, चारकोठे भवन निर्माणका लागि ३६ लाख रुपैयाँ र दुईकोठे भवन निर्माणका लागि १८ लाख रुपैयाँ अनुदान उपलब्ध गराइनेछ।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सरकारले वि.सं. २०७७ सालदेखि राष्ट्रपति हुँदै राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।











प्रतिक्रिया दिनुहोस्