यहीँ फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशका १० जिल्लामा कुल ४३ हजार ५ सयभन्दा बढी मत बदर भएका छन्। बदर मतमध्ये सबैभन्दा धेरै सुर्खेत र दैलेख जिल्लामा देखिएको छ।

निर्वाचन कार्यालयका अनुसार मतदाताले एउटाभन्दा बढी चुनाव चिह्नमा छाप लगाउनु, मतपत्र सही तरिकाले प्रयोग नगर्नु तथा मतदाता शिक्षाको अभाव जस्ता कारणले बदर मतको संख्या उच्च देखिएको हो।
अघिल्लो निर्वाचनको तुलनामा यसपटक बदर मतमा करिब ४ प्रतिशत सुधार भएको निर्वाचन अधिकारीहरूले बताएका छन्।
दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा समानुपातिकतर्फ १ लाख ४२ हजार मत खसेको थियो भने प्रत्यक्षतर्फ १ लाख ३९ हजार ६०३ मत खसेको थियो। दुवै निर्वाचन क्षेत्रको प्रत्यक्ष र समानुपातिकतर्फ गरी १० हजार ४०७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
दैलेख जिल्लामा पनि दुई निर्वाचन क्षेत्र रहेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दैलेखमा समानुपातिकतर्फ ८१ हजार १ सय १८ मत खसेकोमध्ये ९ हजार ८ सय ९२ मत बदर भएका छन्।
कर्णाली प्रदेश निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशका अधिकांश जिल्लामा प्रत्यक्षतर्फभन्दा समानुपातिकतर्फ बदर मतको संख्या बढी देखिएको छ।
कालीकोटमा प्रत्यक्ष र समानुपातिक गरी ३ हजार ८४३ मत बदर भएका छन्। प्रत्यक्षतर्फ ४१ हजार ३ सय ५० मत खसेको थियो भने समानुपातिकतर्फ ४२ हजार २३७ मत खसेको थियो।
मुगु जिल्लामा २२ हजार ७१ मतमध्ये ८ सय ४६ मत बदर भएका छन्। हुम्लामा प्रत्यक्षतर्फ २२ हजार ३ सय ५१ मत खसेकोमध्ये ४ सय १६ मत बदर भएका छन् भने समानुपातिकतर्फ ३ सय ९३ मत बदर भएको छ।
कर्णाली प्रदेशका मुख्य निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार २०७९ को निर्वाचनको तुलनामा यसपटक बदर मतमा करिब ४ प्रतिशतले सुधार देखिएको छ। उनका अनुसार कतिपय मतदाताले आफूलाई मन परेको एकभन्दा बढी चिह्नमा छाप लगाउने गर्दा मत बदर हुने गरेको पाइएको छ।
उनले मतदाता शिक्षा दिने समय कम भएकाले पनि यसपटक बदर मतको संख्या उल्लेख्य देखिएको बताए। ‘मतदाता शिक्षा दिने समय कम थियो, साथै कतिपय मतदाताको लापरबाही पनि देखियो,’ उनले भने।
निर्वाचन कार्यालयका अनुसार अझै रुकुम पश्चिम र डोल्पा जिल्लामा समानुपातिकतर्फको मतगणना हुन बाँकी रहेको छ। रुकुम पश्चिममा प्रत्यक्षतर्फ खसेको ५९ हजार ५ सय २३ मतमध्ये ३ हजार १६ मत बदर भएका छन्। जाजरकोटमा प्रत्यक्ष र समानुपातिक गरी ६ हजार ४४४ मत बदर भएका छन् भने डोल्पामा १६ हजार १९ मतमध्ये ५ सय १३ मत बदर भएका छन्।










प्रतिक्रिया दिनुहोस्