सुर्खेतको बराहताल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा गाउँपालिकाभर वर्षभरिमा कुल ३ हजार ३९९ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन्।

गाउँपालिकाले सार्वजनिक गरेको विवरणमा भत्ता प्राप्त गर्नेहरूमा महिलाको संख्या बढी रहेको छ। कुल लाभग्राहीमध्ये १ हजार ९८३ जना महिला र १ हजार ४१६ जना पुरुष रहेका छन्।
विभिन्न लक्षित समूहअनुसार भत्ता वितरण गरिएको छ। ज्येष्ठ नागरिकतर्फ १ हजार ३२७ जना (अन्य) र ३६९ जना दलित गरी कुल १ हजार ६९६ जना लाभान्वित भएका छन्। बालबालिकातर्फ ५११ जनाले पोषण तथा सामाजिक सुरक्षा भत्ता पाएका छन् भने ४४३ जना लोपोन्मुख जातिका नागरिकलाई पनि भत्ता उपलब्ध गराइएको छ।
त्यस्तै, ५५ जना पूर्ण अपाङ्गता भएका र १७४ जना अति अशक्त अपाङ्गता भएका व्यक्तिहरू यस कार्यक्रममा समेटिएका छन्। साथै १९९ जना एकल महिला र ३२१ जना विधवा महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन्।
प्रतिवेदनले त्रैमासिक प्रगतिसमेत देखाएको छ। आर्थिक वर्षको सुरुवातमा ३ हजार २७० जना लाभग्राहीबाट सुरु भएको कार्यक्रममा क्रमशः नयाँ लाभग्राही थपिँदै गएका छन्। पहिलो त्रैमासिकमा १०३, दोस्रोमा ७९, तेस्रोमा ६९ र चौँथोमा २४ जना नयाँ लाभग्राही प्रणालीमा समावेश भएका छन्।
यता, गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा लोपोन्मुख जातिका नागरिकलाई लक्षित गर्दै समावेशी रूपमा कार्यक्रम सञ्चालन गरेका छौँ। उनले कुनै पनि योग्य नागरिक सेवा सुविधाबाट वञ्चित नहोस् भन्नेमा गाउँपालिका सजग रहेको उल्लेख गर्दै भत्ता वितरण प्रणालीलाई अझ पारदर्शी, प्रविधिमैत्री र सहज बनाउने प्रतिबद्ध हुने उनले बताए ।











प्रतिक्रिया दिनुहोस्