युट्युबले आफ्ना प्रयोगकर्तालाई शर्ट्स भिडिओको अत्यधिक प्रयोगबाट जोगाउन नयाँ ‘जिरो मिनेट’ (Zero Minutes) फिचर सार्वजनिक गरेको छ। यसअन्तर्गत प्रयोगकर्ताले अब मोबाइल एपमा शर्ट्स हेर्ने समयसीमा शून्य मिनेटमा सेट गर्न सक्नेछन्।

यो फिचर एन्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि उपलब्ध रहेको छ। सेटिङ सक्रिय गर्न युट्युब एपको ‘Settings’ भित्र ‘Time management’ मा गई ‘Shorts feed limit’ विकल्पमा ‘Zero minutes’ छनोट गर्नुपर्छ। यो सेटिङ अन गरेपछि होमपेजमा शर्ट्स भिडिओहरू देखिन बन्द हुनेछन्।
यद्यपि प्रयोगकर्ताले चाहेमा सब्स्क्रिप्सन फिड वा छुट्टै लिंकमार्फत शर्ट्स भिडिओ हेर्न भने सक्नेछन्। शून्य मिनेट सेट गरेपछि शर्ट्स स्क्रोल गर्न खोज्दा ‘reached your Shorts feed limit’ भन्ने फुल–स्क्रिन सन्देश देखिनेछ र स्क्रोलिङ रोकिनेछ।
यो फिचरको प्रभाव अकाउन्टको प्रकृतिअनुसार फरक देखिन्छ। Google को ‘Family Link’ मार्फत निगरानी गरिएका टिनएज अकाउन्टमा यो लिमिट कडा रूपमा लागू हुने भएकाले हटाउन नसकिने व्यवस्था छ। तर वयस्क प्रयोगकर्ताका हकमा भने यो केवल रिमाइन्डरको रूपमा रहनेछ, जसलाई हटाएर फेरि स्क्रोलिङ जारी राख्न सकिन्छ।
हाल यो सुविधा मोबाइल एपमा मात्र उपलब्ध छ। डेस्कटप प्रयोगकर्ताले भने शर्ट्स ब्लक गर्न अझै ब्राउजर एक्सटेन्सनकै सहारा लिनुपर्ने अवस्था छ।
युट्युबकी प्रवक्ता म्याकेन्जी स्पिलरका अनुसार ‘जिरो मिनेट’ विकल्प अभिभावकहरूका लागि पूर्ण रूपमा उपलब्ध भइसकेको छ भने वयस्क प्रयोगकर्तामा पनि क्रमशः विस्तार भइरहेको छ।
सन् २०२० मा सुरु भएको युट्युब शर्ट्सले छोटो भिडिओ सामग्री प्रवर्द्धनमा ठूलो लगानी गर्दै आएको छ। हाल यसको अधिकतम लम्बाइ तीन मिनेटसम्म पुर्याइएको छ भने एआई–आधारित क्रिएटर टुलहरू समेत थपिएका छन्।
अनन्त स्क्रोलिङ डिजाइनले प्रयोगकर्तालाई लामो समयसम्म प्लेटफर्ममा राख्ने आलोचना भइरहेका बेला युट्युबले ‘जिरो मिनेट’ जस्ता फिचरमार्फत डिजिटल वेलबिइङप्रति आफ्नो प्रतिबद्धता देखाउने प्रयास गरेको विश्लेषण गरिएको छ।











प्रतिक्रिया दिनुहोस्