२०८३ वैशाख ४ , शुक्रबार

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बुबा-छोरा बेपत्ता



अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेका छन्।

वैशाख ३ गते बेलुका कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर फर्किने क्रममा अचानक डुङ्गा पल्टिँदा डुङ्गा चालक बुबा र सवार छोरा नदीमा बेपत्ता भएका हुन्।

घटनापछि बेपत्ताको खोजीका लागि अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरी चौकी भैरवस्थान, ढुङ्गाचाल्ना र ढकारीबाट प्रहरी टोली खटिएको छ। साथै, सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त टोली पनि घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार