कर्णाली प्रदेशका १२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। यसपटकको नतिजाले कर्णालीमा परम्परागत दल नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आधार अझै कायम रहेको देखाएको छ भने नेकपा (एमाले) अपेक्षाभन्दा निकै कमजोर देखिएको छ।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि कर्णालीमा पहिलो पटक जित दर्ता गरेको छ। सुर्खेत-२ मा रास्वपाका रमेशकुमार सापकोटाले ३० हजार ३७८ मत प्राप्त गरे भने कांग्रेसका नारायण कोइरालाले १६ हजार १९६ मत, एमालेका कुलमणि देवकोटाले १२ हजार ८९१ मत ल्याउँदा नेकपाका झकबहादुर मल्लले ४ हजार ५८७ मत पाएपनि पछि पार्दै १४ हजारभन्दा बढी मतान्तरले सापकाेटा विजयी भएका छन्।
प्रत्यक्षतर्फ कांग्रेस पाँच सिट जित्दै कर्णालीमा सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेसका उम्मेदवारहरू हुम्लाबाट जयपति रोकायाले ८ हजार ७९७ मत , मुगुबाट खड्ग शाही ७ हजार ९१४ मत, दैलेख-१ बाट वासना थापाले १२ हजार ३७२ मत, जाजरकोटबाट खडकबहादुर बुढा र सुर्खेत-१ बाट विष्णुबहादुर खड्काले २६ हजार ८९५ मत ल्याई विजयी भएका छन्
त्यस्तै, नेकपाले चार निर्वाचन क्षेत्रमा जित हात पारेको छ। डोल्पाबाट धनबहादुर बुढाले ६ हजार ८०२ मत, रुकुम पश्चिमबाट गोपाल शर्माले २१ हजार ६०९ मत, कालीकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत र सल्यानबाट रमेश मल्लले २३ हजार १८९ मतसहित निर्वाचित भएका छन्। यीमध्ये अधिकांश उम्मेदवार पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन्, जसले कर्णालीमा आफ्नो प्रभाव कायम रहेको संकेत गरेका छन्।
एमालेले भने अपेक्षित नतिजा ल्याउन सकेन। २०७९ को निर्वाचनमा कर्णालीमा शून्य रहेको एमालेले यसपटक कम्तीमा पाँच सिट जित्ने लक्ष्य राखेको थियो। तर, दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेलले १३ हजार ८८९ मतसहित विजयी हुँदै पार्टीले एक सिट मात्र सुरक्षित गर्न सफल भयो। उनले कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत सहित पराजित भएका हुन्।
यस निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि कर्णालीबाट आफ्नो उपस्थिति कायम राखेको छ। जुम्लाबाट ज्ञानबहादुर शाहीले १४ हजार ८१६ मतसहित पुनः निर्वाचित हुँदै देशभर राप्रपाले जितेको एक मात्र प्रत्यक्ष सिट सुरक्षित गरेका छन्।
कर्णालीका अन्य केही क्षेत्रमा पनि रास्वपाले उल्लेखनीय मत प्राप्त गरेको छ।

सल्यानमा रास्वपाका ललितकुमार चन्दले २० हजार ९०४ पाए दोस्रो स्थानमा रहे भने सुर्खेत-१ मा टेकबहादुर सिंहले १४ हजार ७२९ मत भने दैलेख-१ मा नन्दकिशोर बस्नेतले ७ हजार ८ सय ९४ मत र दैलेख–२ मा बखतबहादुर शाहीले ६ हजार ७ सय ९७ मत प्राप्त गरे ।
डोल्पामा भने रोचक प्रतिस्पर्धा देखियो। नेकपाका धनबहादुर बुढा चौथोपटक सांसद निर्वाचित हुँदा उनका सहोदर दाइ कर्णबहादुर बुढा कांग्रेसबाट उम्मेदवार बनेका थिए।
तर, प्रतिस्पर्धामा धनबहादुर ६ हजार ८०२ मतसहित विजयी हुँदा एमालेका लंकबहादुर रोकायाले ५ हजार ३९६ मत दोस्रो र कर्णबहादुर २ हजार ९४७ मत तेस्रो स्थानमा सीमित भए।










प्रतिक्रिया दिनुहोस्