२०८३ वैशाख ६ , आइतबार

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, १८ जना गम्भीर घाइते



सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिकामा शनिबार साँझ भएको उक्त दुर्घटनामा ठूलो मानवीय क्षति भएको हो।

नगरपालिकाको वडा नम्बर ८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको गाडी वडा नम्बर १० धाइरेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परी तीन जनाको घटनास्थलमै ज्यान गएको हो भने अन्य १८ जना गम्भीर घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको जनाइएको छ।

सल्यान प्रहरीको सञ्चार शाखाले घटनाबारे थप विवरण संकलन भइरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार