२०८३ वैशाख ६ , आइतबार

बडिचौरमा कांग्रेसको शक्ति प्रदर्शन : पश्चिम सुर्खेतको विकासको जिम्मा कोइरालाको प्रतिबद्धता



सुर्खेतकाे बडिचौर बजार मंगलबार राजनीतिक चहलपहलले भरिएको थियो। नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमितिको आयोजनामा सम्पन्न चुनावी सभाअघि नेता-कार्यकर्ताहरूले बाजागाजासहित बजार परिक्रमा गर्दै शक्ति प्रदर्शन गरेका थिए। र्‍यालीले बजार क्षेत्रमा चुनावी माहोल थप तताएको देखिन्थ्यो।

सभालाई सम्बोधन गर्दै सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार नारायणकुमार कोइरालाले पश्चिम सुर्खेतको समग्र विकासलाई आफ्नो मुख्य एजेण्डा बनाएको स्पष्ट पारे । पुरातात्त्विक महत्त्व बोकेका स्थलहरूको संरक्षण, आवश्यक सर्वेक्षण र योजनाबद्ध पूर्वाधार विकासमार्फत क्षेत्रको पहिचान उकास्ने योजना उनले प्रस्तुत गरे ।

कोइरालाले पार्टीका १० भिजनलाई कार्यान्वयनमा लैजाने र अघिल्ला प्रतिबद्धताहरूलाई पूर्णता दिने दाबी गरेका थिए । बराहताल गाउँपालिकामा रहेको रानीघाट पुल निर्माण सम्पन्न गर्ने, चेपाड् र तरंगाका पुलहरू अघि बढाउने तथा तेलपानी-भुरीगाउँ सडकमा देखिएका कानुनी जटिलता समाधान गरी निर्माण प्रक्रिया अघि बढाउने याेजना रहेकाे बताए । ‘अब विकासको जिम्मा म लिन्छु, ‘ उनले भने।

पूर्व केन्द्रीय सदस्य शिवराज जोशीले लोकतन्त्र सुदृढीकरण र दिगो विकासका लागि कांग्रेसको जित आवश्यक रहेको उल्लेख गरे । पूर्वमन्त्री तथा निवर्तमान सांसद हृदयराम थानीले विगतमा सुरु भएका योजनाहरूलाई पूर्णता दिन पनि कांग्रेसलाई अवसर दिनुपर्ने तर्क दिदैँ, पश्चिम सुर्खेतको विकास यात्रामा आफू निरन्तर सक्रिय रहने आश्वासन दिँदै उनले मतदातालाई सचेत निर्णय गर्न आग्रह समेत गरेका थिए ।

सभामा समानुपातिक उम्मेदवार पार्वतीकुमारी गिरी, केन्द्रीय सदस्य तिर्थजंग शाही, प्रदेश सहमहामन्त्री उपेन्द्र थापा, कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मी, उपसभापति टोपबहादुर रावत तथा दलित संघका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्मालगायतले पनि आ–आफ्नो धारणा राखेका थिए।

कार्यक्रम नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमिति का अध्यक्ष भिमबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार