वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकका लागि मंगलबारदेखि ३४ प्रकारका अनिवार्य स्वास्थ्य परीक्षण लागू गरिएको छ। सरकारले सार्वजनिक गरेको नयाँ परीक्षण प्याकेजको शुल्क ९,५०० रुपैयाँ तोकिएको छ भने १७१ स्वास्थ्य संस्था सूचीकरणमा परेका छन्।

विशेषज्ञ टोलीले पेसागत जोखिमका आधारमा परीक्षण छुट्याई श्रमिकको हितलाई प्राथमिकता दिँदै निर्णय गरेको हो। परीक्षणअनुसार श्रमिकमा रोग लाग्नुअघि नै स्क्रिनिङ गर्न, विदेश जानुअघि उपचारको अवसर उपलब्ध गराउन र अकाल मृत्यु दर घटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ। टोलीले यो व्यवस्था श्रमिक र समाज दुवैका लागि लाभदायी हुने बताएका छन्।

नयाँ परीक्षणमा रक्त परीक्षण, क्षयरोग, मृगौला, हेपाटाइटिस, सुगर, मलेरिया, टाइफाइडलगायत स्वास्थ्य सूचकहरू समावेश छन्। उमेर र पेसाअनुसार पेसागत रोग पहिचान गर्न आवश्यक परीक्षण पनि अनिवार्य गरिएको छ।
विशेषज्ञहरूका अनुसार परीक्षण प्रणालीलाई डिजिटलाइजेशन गर्नाले गलत मेडिकल रिपोर्ट र अनियमितता रोक्न सहयोग पुग्नेछ। सरकारले परीक्षण प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए विदेशमा हुने श्रमिक मृत्यु दरमा उल्लेख्य कमी आउने बताएका छन् ।








