२०८३ साउन ११ , सोमबार

सरकारी क्वाटरमै भेटियो ७ लाख ५० हजार घुस, डिभिजन प्रमुखसहित दुई पक्राउ



सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको सरकारी क्वाटरमा छापा मारेको थियो।

छापाका क्रममा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ।

खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ पनि बरामद भएको अख्तियार कार्यालय बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।

अख्तियारका अनुसार विभिन्न जल उपभोक्ता समितिले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीका लागि माग गर्दा डिभिजन प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत घुस मागेकी थिइन्।

सोही क्रममा चौधरीले सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझेर डिभिजन प्रमुख ढकालको सरकारी क्वाटरमा पुर्‍याएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।