२०८३ असार १ , सोमबार

मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह असार ८ मा, १ हजार ९२८ विद्यार्थी दीक्षित हुदैँ



मध्यपश्चिम विश्वविद्यालयले आफ्नो चौथो दीक्षान्त समारोह असार ३ गते बुधबार आयोजना गर्ने भएको छ । विश्वविद्यालयले सोमबार सुर्खेतमा पत्रकार सम्मेलन गरी दीक्षान्त समारोह तथा विश्वविद्यालय सभासम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।

वि.सं. २०६७ असार ३ गते स्थापना भएको विश्वविद्यालयले छोटो अवधिमै शैक्षिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । हाल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा रहेको छ भने विभिन्न संकायअन्तर्गत स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

विश्वविद्यालयले चौथो दीक्षान्त समारोहमा विभिन्न ग्राजुएट स्कुलअन्तर्गतका स्नातक, स्नातकोत्तर तथा दर्शनाचार्य तहका गरी एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुनेछन् । तीमध्ये एक हजार २२२ जना स्नातक, ६९४ जना स्नातकोत्तर र १२ जना दर्शनाचार्य तहका विद्यार्थी रहेका छन् ।

समारोहमा शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई विभिन्न पदक तथा सम्मान प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । स्नातक तथा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति र उपकुलपति पदक प्रदान गरिनेछ । साथै विभिन्न ग्राजुएट स्कुलबाट स्नातकोत्तर तहका पाँच जना र स्नातक तहका सात जना विद्यार्थी डिन्स लिस्टमा परेर पदकसहित सम्मानित हुनेछन् ।

विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर कुइनेपानी, सुर्खेतमा बुधबार बिहान १० बजे आयोजना हुने समारोहमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षता रहनेछ । कार्यक्रममा शिक्षाविद् तथा केदारभक्त माथेमा प्रमुख अतिथिका रूपमा सहभागी हुने विश्वविद्यालयले जनाएको छ ।

यसअघि विश्वविद्यालयबाट ६ हजार ३७० जना विद्यार्थी दीक्षित भइसकेका छन् । विश्वविद्यालयले चौथो दीक्षान्त समारोहमार्फत थप १ हजार ९२८ विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गर्न लागेको हो ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार