२०८३ जेठ १९ , मंगलबार

प्राथमिक तहका ६ हजार शिक्षक दरबन्दी निमाविमा स्तरोन्नति गरिने



सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी सङ्ख्या घट्दै गएको र माथिल्लो कक्षामा विद्यार्थी बढ्दै गएकाले सरकारले प्राथमिक तहका करिब ६ हजार शिक्षक दरबन्दीलाई निम्न माध्यमिक तह (निमावि) मा स्तरोन्नति गर्ने तयारी गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राथमिक तहका पाँच हजार ९६५ दरबन्दी स्तरोन्नतिसम्बन्धी अध्ययन पूरा गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको छ। मन्त्रालयले उक्त प्रस्तावमाथि अध्ययन गरिरहेको जनाएको छ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेका अनुसार पहिलो चरणमा पाँच हजार ९६५ प्राथमिक तहका दरबन्दी निमावि तहमा लैजाने तयारी गरिएको छ। त्यसपछि आवश्यकताअनुसार अन्य दरबन्दी पनि स्तरोन्नतिका लागि मन्त्रालयमा सिफारिस गरिने उहाँले बताउनुभयो।

सरकारको हालको शैक्षिक संरचनाअनुसार कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह मानिन्छ। एउटै आधारभूत तहभित्र रहे पनि तल्लो कक्षाका शिक्षक दरबन्दी माथिल्लो कक्षामा रूपान्तरण गर्न लागिएको हो।

केन्द्रका अनुसार पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दो क्रममा छ भने कक्षा ६ देखि ८ सम्म विद्यार्थी सङ्ख्या बढ्दै गएको छ। तर निजी तथा संस्थागत विद्यालयमा भने तल्लो कक्षामा बढी र माथिल्लो कक्षामा तुलनात्मक रूपमा कम विद्यार्थी देखिने गरेका छन्।

तथ्याङ्कअनुसार हाल प्राथमिक तह (कक्षा १–५) मा एक लाख ४५ हजार ७५३ शिक्षक दरबन्दी रहेका छन्। यस तहमा ३५ लाख ५४ हजार ९०४ विद्यार्थी अध्ययनरत छन्। कक्षा ६ देखि ८ सम्म भने ५९ हजार ५५२ शिक्षक दरबन्दी रहेकोमा १८ लाख १९ हजार ३६८ विद्यार्थी अध्ययनरत छन्।

यस आधारमा प्राथमिक तहमा एक शिक्षकको भागमा औसत २४ जना विद्यार्थी पर्ने गरेका छन् भने कक्षा ६ देखि ८ सम्म एक शिक्षकले औसत ३० जना विद्यार्थी पढाउनुपर्ने अवस्था रहेको छ।

केन्द्रले शिक्षक–विद्यार्थी अनुपात नमिलेकै कारण प्राथमिक तहमा करिब २० हजार शिक्षक दरबन्दी आवश्यकताभन्दा बढी रहेको जनाएको छ। यही कारण प्राथमिक तहमा पछिल्ला दुई वर्षदेखि स्थायी शिक्षक पदपूर्ति समेत रोकिएको छ।

भौगोलिक अवस्था र विद्यालयगत आवश्यकताअनुसार शिक्षक दरबन्दीको असन्तुलन देखिएकाले त्यसलाई मिलाउन दरबन्दी पुनरवलोकन तथा पुनर्वितरणको प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार