२०८३ जेठ १९ , मंगलबार

कर्णालीको बालविवाह अन्त्यको रणनीति समुदाय तहसम्म पु¥याईँदै



नेपालको संविधान, राष्ट्रिय कानून, अन्तराष्ट्रिय सन्धी तथा नीतिगत दायित्व अनुरुप बालविवाह अन्त्यका लागि कर्णाली प्रदेश सरकारले रणनीति निर्माण गरेको छ । बालअधिकार प्रर्वद्धन र संरक्षण सुनिश्चित गर्न, बालविवाह सम्बन्धी हिंसा, दुव्र्यवहार र शोषणबाट बालबालिकालाई बचाउनकै निम्ति रणनीतिको आवश्यकता औल्याईएको छ ।

कर्णाली प्रदेशको बाल विवाह अन्त्य सम्बन्धी रणनीति, २०८२ लाई समुदायतहसम्म पु¥याउने लागिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले रणनीतिलाई ११ हजार प्रति प्रकाशित गरि समुदाय तहमा पु¥याउने तयारी गरिएको बताए ।

‘रणनीतिले बालअधिकार सुनिश्चिततासहितको बालविवाह मुक्त कर्णाली प्रदेश बनाउने दूरदृष्टि राखेको छ, त्यसका लागि समुदायतहसम्म सचेतना फैलाउनुपर्छ, हामी समुदायस्तर तथा विद्यालयमा रहेका बालक्लबसम्म पुग्ने गरि रणनीति पठाउन लागेका हौँ,’ मन्त्री भण्डारीले भने ।

अर्को प्रसंगमा मन्त्री भण्डारीले कर्णाली केहि पनि भएन भन्ने भाष्य गलत भएको बताए । आगामी आर्थिक वर्ष कर्णालीका जनताले अनुभूति गर्न पाउने गरि नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भएको मन्त्री भण्डारी बताउँछन् ।

बालविवाह विरुद्ध साझा अभियान सञ्जाल क्याक्माको आयोजनामा दैलेखको गुराँसेमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले कर्णालीको विकासका लागि सबै राजनीतिक दल, नागरिक समाज र सबै कर्णालीबासीको साझा प्रयास जरुरी रहेको बताए ।

प्रदेश सरकारले कर्णालीका ७९ वटै स्थानीय तहलाई समान रुपमा बजेट प्रदान गर्ने मन्त्री भण्डारीले बताए । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले अब नेपालको विकास मोडल परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

बालविवाह न्यूनिकरण गर्ने सवालमा गरिबीको रेखामूनि रहेका परिवारको आर्थिक अवस्था उकास्न जरुरी रहेको बताए । गरिब र विपन्न नागरिकहरुको जीवनस्तर सुधार गर्ने गरि सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने खत्रीको भनाई छ ।

शिक्षा र जनचेतना नबढेसम्म बालविवाह न्यूनिकरण हुन नसक्ने सभापति खत्री बताउँछन् । बालविवाह विरुद्ध साझा अभियान सञ्जालका कर्णाली प्रदेश संयोजक पवित्रा शाहीले कर्णालीमा बालविवाह अन्त्य गर्ने क्रममा थुप्रै सकारात्मक प्रयासहरु भईरहेको बताइन् । प्रदेश सरकारले अपनत्व लिएर रणनीति बनाएको बताउँदै शाहीले त्यसको प्रभावकारी कार्यान्वयनमा सबैको साझा जिम्मेवारी रहेको बताइन् ।

क्याक्माको आयोजनामा दैलेखको गुराँसेमा बालविवाह न्यूनिकरणका लागि साझा बुझाई तथा असल अभ्यास आदानप्रदान कार्यशाला गोष्ठि सुरु भएको छ । दुई दिनसम्म चल्ने कार्यक्रममा कर्णालीका ३० वटा स्थानीय तह, बालविवाह न्यूनिकरणको क्षेत्रमा क्रियाशिल नागरिक समाज संस्थासहितको सहभागिता छ ।

प्रकाशित मिति : २०८३ जेठ १७ गते आइतबार