पश्चिम सुर्खेतअन्तर्गत लगाम बजारदेखि धनरास हुँदै धामिसेनसम्मको मदन भण्डारी राजमार्ग खण्डको १६ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य चालु आर्थिक वर्षबाटै सुरु हुने भएको छ।

उक्त सडक खण्डको कालोपत्रे तथा ८ वटा पुल निर्माणका लागि २ अर्ब ९८ करोड रुपैयाँ बजेट सुनिश्चित भएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो। मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका अनुसार सडक निर्माणका लागि ठेक्का प्रक्रिया समेत अगाडि बढिसकेको छ।
कार्यालयले खम्बागाडे–विद्यापुर तथा बल्देदेखि लगाम बजारसम्मका खण्डमा भने यसअघि नै ठेक्का सम्झौता भइसकेको र निर्माण कम्पनीमार्फत काम भइरहेको जनाएको छ।
२०५० को दशकमा कच्ची सडकको पहुँच पुगेको पश्चिम सुर्खेत क्षेत्रमा अझै सहज र सुरक्षित यातायात सेवा नपाएको भन्दै स्थानीयले लामो समयदेखि सडक स्तरोन्नतिको माग गर्दै आएका थिए। सङ्घीयता कार्यान्वयनपछि सडक स्तरोन्नतिको आवाज उठे पनि पर्याप्त बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन।
मदन भण्डारी राजमार्गले बड्डीचौरदेखि बेनीघाटसम्म ९४ किलोमिटर क्षेत्र जोडिन्छ । राजमार्गअन्तर्गत पश्चिम क्षेत्रमा वराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिका पर्दछन्।










प्रतिक्रिया दिनुहोस्