कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।
काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो।
प्रहरीका अनुसार घाइतेमध्ये ३५ जनालाई थप उपचारका लागि भैरहवास्थित विभिन्न अस्पतालमा रिफर गरिएको छ। दुई जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम तथा १७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक रहेका छन्। बस चालक सुर्खेतका ३० वर्षीय डिल्ली प्रसाद दाहाल र सहचालक राजन बुढासहित अधिकांश यात्रुको शरीरका विभिन्न भागमा चोट लागेको छ।
दुर्घटनामा घाइते भएका यात्रुहरू सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, बाँके, झापा, काठमाडौँ, ललितपुर, ओखलढुंगालगायत जिल्लाका रहेका छन्।
प्रहरीले १२ जना घाइतेलाई आफ्नै सवारीमार्फत उद्धार गरेको तथा अन्यलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको जनाएको छ। दुर्घटनापछि सकुशल रहेका अन्य यात्रुलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।
बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्