२०८३ भदौ ३१ , बुधबार

१३ वर्षदेखि अलपत्र भेरी पुल: निर्माण ढिलाइले मध्यपहाडी राजमार्गको महत्त्वपूर्ण खण्ड अवरुद्ध



रुकुमपश्चिम–जाजरकोट जोड्ने भेरी नदीमाथिको पुल निर्माण जिम्मेवार निकायको बेवास्ता र निर्माण कम्पनीको ढिलासुस्तीका कारण १३ वर्षदेखि अलपत्र परेको छ। मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने उक्त पुल २०७२ सालमै सञ्चालनमा आउने लक्ष्य राखिएको भए पनि हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन।

चौरजहारी नगरपालिका–२ अँधेरेदेखि जाजरकोटको भेरी नगरपालिका–१३ कुदुसम्म जोड्ने पुल निर्माणका लागि २०६९ सालमा तीन वर्षभित्र काम सक्ने गरी वाइपी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो। तर हालसम्म पुलका दुवैतर्फका आधार पिल्लर मात्रै निर्माण भएका छन् भने मुख्य संरचना निर्माण हुन बाँकी छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी राजमार्गको रुकुमपश्चिम–जाजरकोट खण्ड पुल अभावकै कारण पूर्ण रूपमा जोडिन सकेको छैन। पुल निर्माण नहुँदा राजमार्ग स्तरोन्नति तथा कालोपत्रे कार्यसमेत प्रभावित भएको छ। साथै, रुकुमपश्चिमबाट जाजरकोटसम्म सिधा यातायात सञ्चालन हुन नसक्दा स्थानीयवासीले सास्ती भोग्दै आएका छन्।

मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख निरञ्जन थापाका अनुसार पुल निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया अगाडि बढाइएको छ। नदीको धार परिवर्तन भई फैलिएको अवस्थालाई ध्यानमा राख्दै तटबन्धसहितको नयाँ डिजाइन तयार गरी स्वीकृतिका लागि सडक विभागमा पठाइएको छ। स्वीकृतिपछि यसै वर्षभित्र नयाँ टेन्डर आह्वान गर्ने तयारी गरिएको उनले बताए।

यसअघि पहिलो ठेक्का रद्द भएपछि दुई पटक टेन्डर आह्वान गरिए पनि सफल हुन सकेन। एक पटक लागत अनुमानभन्दा बढी रकमको प्रस्ताव आएपछि सम्झौता हुन सकेन भने अर्को पटक कुनै पनि निर्माण कम्पनीले आवेदन नदिएको जनाइएको छ।

प्रारम्भिक ठेक्का लिएको वाइपी कन्स्ट्रक्सनले काम नगरेपछि २०७९ मङ्सिर २९ गते ठेक्का सम्झौता औपचारिक रूपमा रद्द गरिएको थियो। त्यसक्रममा कम्पनीको ७२ लाख रुपैयाँ धरौटी र दुई करोड ६० लाख रुपैयाँ पेस्की जफत गरिएको थियो। साथै सार्वजनिक खरिद नियमावली, २०६३ अनुसार कम्पनीलाई ८ करोड ५७ लाख ९५ हजार ६२६ रुपैयाँ जरिबाना तोकिएको थियो।

१८ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा संलग्न वाइपी कन्स्ट्रक्सनका सञ्चालक राजु श्रेष्ठको निधनपछि निर्माण कार्य थप प्रभावित भई पुल अलपत्र अवस्थामा पुगेको बताइएको छ। स्थानीयवासीले पुल निर्माण शीघ्र सम्पन्न गरी मध्यपहाडी राजमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।