२०८३ जेठ १९ , मंगलबार

बाढीपहिरोले विद्यालय भवन बगायो, खुला चौरमा पढाई



बाढीपहिरोले विद्यालय भवन पूर्ण रूपमा क्षति पु¥याएपछि हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित डाँफे आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् ।

गत जेठ ५ गते आएको हावाहुरीसहितको वर्षा र बाढीले विद्यालय भवन बगाएपछि विद्यालयमा अध्ययनरत ८० जना बालबालिकाको पठनपाठन नजिकैको सामुदायिक भवनको खाली चौरमा सञ्चालन गरिएको हो । एक सातादेखि खुला आकाशमुनि जोखिमपूर्ण अवस्थामा पढाइ भइरहेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक बली तामाङका अनुसार भवन क्षतिग्रस्त भएपछि विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि अस्तव्यस्त बनेको छ । खुला चौरमा लामो समयसम्म बस्नुपर्दा विद्यार्थी बिरामी पर्न थालेका छन् ।

बाढीपहिरोका कारण विद्यालय भवनसँगै सात वटा कम्प्युटर, दुई थान ल्यापटप, २० वटा कुर्सी, ८० वटा बेन्च, सात वटा दराज, दुई दर्जनभन्दा बढी टेबुल, सेतो बोर्ड, चार वटा खाट तथा अन्य कार्यालय सामग्री नष्ट भएका छन् । विद्यालयको खानेपानी ट्याङ्की र धारा पनि काम नलाग्ने अवस्थामा पुगेका छन् ।

प्रधानाध्यापक तामाङले आवश्यक शैक्षिक सामग्री अभाव हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको बताए ।  उनले विद्यालयको समस्या तत्काल समाधान गर्न स्थानीय तहसँग आग्रह गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई प्रहरी मुचुल्काका आधारमा सरकारसमक्ष आवश्यक पहल गरिदिन अनुरोधसमेत गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेठ १३ गते बुधबार