कर्णाली प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था प्रदेश अस्पताल सुर्खेत गम्भीर जनशक्ति अभावका कारण प्रभावित बनेको छ । पाँच सय शय्याबाट सेवा सञ्चालन गर्न सक्ने भौतिक संरचना तयार भए पनि अस्पतालमा हालसम्म १५० शय्याको मात्रै स्वीकृत दरबन्दी रहेको छ ।
प्रदेश सरकारको निर्णयअनुसार अस्पताललाई तीन सय शय्याको रूपमा सञ्चालन गरिए पनि आवश्यक चिकित्सक, नर्स तथा प्राविधिक कर्मचारीको व्यवस्थापन हुन नसक्दा सीमित जनशक्तिकै भरमा सेवा दिनुपर्ने अवस्था रहेको छ ।
अस्पताल स्रोतका अनुसार अहिले अस्पतालले तीन सय शय्याबाट सेवा दिइरहेको छ । तर विशेषज्ञ चिकित्सक, स्टाफ नर्स, प्रयोगशाला प्राविधिक, रेडियोग्राफर तथा फार्मेसी जनशक्तिको अभावले सेवा प्रवाहमा प्रत्यक्ष असर परेको छ । कतिपय विभागमा सीमित कर्मचारीले अतिरिक्त समय काम गरेर सेवा धानिरहेका छन् ।
संघीयता कार्यान्वयनपछि तत्कालीन मध्यपश्चिम क्षेत्रीय अस्पताललाई प्रदेश सरकारअन्तर्गत ल्याएर सञ्चालन गरिएको थियो । त्यसयता बिरामीको चाप उल्लेख्य रूपमा बढे पनि संरचनाअनुसारको कर्मचारी व्यवस्थापन हुन सकेको छैन ।
दैनिक कर्णालीका विभिन्न जिल्ला मात्रै नभई लुम्बिनी र सुदूरपश्चिमका सीमावर्ती क्षेत्रबाट समेत सयौँ बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । जनशक्ति अभावकै कारण बिरामीले लामो समय लाइन बस्नुपर्ने, आकस्मिक सेवामा अत्यधिक चाप हुने तथा जटिल बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता अझै कायम रहेको सेवाग्राहीको गुनासो छ ।
अस्पतालमा अत्याधुनिक उपकरण र भवन विस्तार भए पनि दक्ष जनशक्ति अभावले अपेक्षित गुणस्तरीय सेवा दिन चुनौती थपिएको अस्पताल प्रशासनको भनाइ छ ।
अस्पतालका सूचना अधिकारी उपसचिव अनिता ज्ञवालीका अनुसार पाँच सय शय्याबाट सेवा दिन सकिने गरी भौतिक संरचना तथा उपकरण जडान भइसकेका छन् । तर सोहीअनुसारको जनशक्ति व्यवस्थापन हुन नसक्नु अहिलेको मुख्य समस्या हो । उनका अनुसार हालको जनशक्तिले जेनतेन तीन सय शय्या धानेको अवस्था छ ।
उनले संघीय सरकार र प्रदेश सरकारले तत्काल स्थायी दरबन्दी विस्तार गर्न नसक्ने अवस्थामा अस्थायी दरबन्दी संरचना स्वीकृत गरी अस्पतालको आन्तरिक स्रोतबाट समेत जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताइन् । लगानीअनुसार अस्पताललाई कुन मोडलमा सञ्चालन गर्ने भन्ने स्पष्ट खाका प्रदेश सरकारले तय गर्नुपर्ने उनको भनाइ छ ।
प्रदेश सरकारले यस अस्पताललाई विशिष्टीकृत स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने घोषणा पटक–पटक गर्दै आएको छ । अस्पताललाई भविष्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने लक्ष्यसमेत प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रममा समेट्दै आएको छ ।
त्यसका लागि प्रदेश सरकार, संघीय स्वास्थ्य मन्त्रालय तथा विकास साझेदार संस्थाबाट पूर्वाधार र उपकरणमा ठूलो लगानी भइरहेको छ ।
तर स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार आवश्यक जनशक्ति व्यवस्थापन नगरी पूर्वाधार विस्तार मात्रै पर्याप्त नहुने चेतावनी दिएका छन् । उनीहरूका अनुसार वास्तविक आवश्यकताअनुसार कम्तीमा तीन सय शय्याको स्थायी दरबन्दी तत्काल स्वीकृत नगरे सेवा व्यवस्थापन झन् जटिल बन्न सक्छ ।
तत्कालीन हेल्थ सेन्टरबाट स्तरोन्नति हुँदै विक्रम संवत् २०३० मा १५ शय्याबाट सञ्चालनमा आएको जिल्ला अस्पताल सुर्खेतलाई हाल प्रदेश अस्पतालको रूपमा विकास गरिएको हो ।
पछि ५० शय्यामा विस्तार गरिएको अस्पताललाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा वीरेन्द्रनगर–४ कालागाउँमा सञ्चालन गरिएको थियो । तर विगतमा जस्तै अहिले पनि विशेषज्ञ जनशक्ति अभावका कारण जटिल प्रकृतिका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता कायमै छ ।










प्रतिक्रिया दिनुहोस्