२०८३ भदौ २७ , शनिबार

गुर्भाकोटमा शिक्षा क्षेत्रका उपलब्धि र आगामी कार्यदिशाबारे अन्तरक्रिया



सुर्खेतको गुर्भाकोट नगरपालिकामा शिक्षा क्षेत्रमा सञ्चालित गतिविधि, उपलब्धि, सिकाइ तथा आगामी कार्यदिशाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कारखाना समूहको आयोजना तथा ग्लोबल पार्टनरशिप फर एजुकेशन (GPE) अन्तर्गत एजुकेशन आउट लाउड (EOL) को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेशन (CSE) परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता, समावेशिता तथा गुणस्तर सुधारका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

स्थानीय तहको शिक्षा योजनालाई विद्यालय र समुदायको आवश्यकताअनुसार प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिने बताए ।

नगर प्रमुख पुनले शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए । गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पूर्वाधारसँगै शिक्षण सिकाइको वातावरण सुधार गर्नुपर्ने बताए ।

भेरी माध्यमिक विद्यालय घुमखरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर खत्रीले विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच नियमित समन्वय हुन जरुरी रहेको बताएका थिए । 

विद्यालयका समस्या पहिचान गरी स्थानीय तहसँगको सहकार्यमा समाधान गर्नुपर्ने र कक्षाकोठाभित्र विद्यार्थीहरुलाइ बसौबसौ लाग्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको जानकारी दिए ।

त्यस्तै, आनन्द माध्यमिक विद्यालय गुमीका प्रधानाध्यापक विनोद घलेले विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि शिक्षकको क्षमता विकास, अभिभावकको सहभागिता र  नियमित अनुगमनमा जोड  दिन जरुरी रहेका बताए । विद्यालयमा उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोग गर्दै शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने उनले बताए ।

परियोजनाअन्तर्गत गुर्भाकोट नगरपालिकाको शिक्षा क्षेत्र योजना निर्माण तथा अद्यावधिक गर्न स्थानीय तहको शिक्षा योजना विश्लेषण फ्रेमवर्क (LEAF) प्रयोग गरी प्राविधिक सहयोग गरिएको छ। यसै क्रममा गुर्भाकोट नगरपालिकाको पाँच वर्षे नगर शिक्षा योजना २०८३/२०८८ अद्यावधिक गरिएको  कारखाना समुहका  प्रतिनिधि ललितजंग शाही जानकारी दिए ।

त्यसैगरी, परियोजनाअन्तर्गत विद्यालयमा विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यसम्बन्धी गतिविधि सञ्चालन गरिएकाे उनले बताए ।  तीन विद्यालयमा जोखिम नक्सांकन, विपद् प्रतिकार्य कार्यदल गठन तथा १४० जनालाई विपद् प्रतिकार्यसम्बन्धी अभिमुखीकरण गरिएको जनाइएको छ।

विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, अभिभावकलाई शिक्षाको महत्वबारे सचेतना, विद्यालय छाडेका बालबालिकाको नियमित अनुगमन तथा विद्यालयमा सहयोग डेस्क स्थापना गर्ने कामसमेत परियोजनामार्फत अघि बढाइएको उनले जानकारी दिए ।

परियोजनाले शिक्षा क्षेत्रका लागि LEAF Framework, RTE Monitoring Tool, Education Advocacy Guidebook, Social Accountability Research Report र Budget Analysis Tool लगायत सामग्री तथा उपकरण विकास गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा कारखाना समूहका कार्यक्रम प्रबन्धक मोहन बुर्जा मगर,  लेकबेशी नगरपालिकाका  नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख,  नगरशिक्षा समिति प्रतिनिधिहरु र विद्यालयका प्रधानध्यापक, विविस अध्यक्षको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८३ साउन २६ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।