२०८३ जेठ १९ , मंगलबार

बोराको झोलाबाट स्कुल ड्रेससम्म : हुम्लाका २३ विद्यार्थीलाई सहयोग



हुम्लाको ताँजाकोट गाउँपालिका–३ स्थित बानादेव आधारभूत विद्यालय, मासपुरमा अध्ययनरत २३ जना विद्यार्थीलाई स्कुल ड्रेस, झोला तथा अन्य शैक्षिक सामग्री वितरण गरिएको छ।

दुर्गम क्षेत्रमा अध्ययनरत बालबालिकाले भोगिरहेको अभाव सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि सामाजिक विकास कार्यालय हुम्लाले सहयोग उपलब्ध गराएको हो।

विद्यालयका विद्यार्थीले झोला अभावमा बोरा तथा सामान्य कपडाको झोलामा किताब–कापी बोकेर विद्यालय जानुपर्ने बाध्यता रहेको भिडियो तथा समाचार सार्वजनिक भएको थियो।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि सामाजिक विकास कार्यालय सिमकोट, हुम्लाले १५ दिनभित्र आवश्यक सहयोग गर्ने प्रतिबद्धता सामाजिक सञ्जालमै जनाएको थियो।

सोही प्रतिबद्धताअनुसार कार्यालयले ११औँ दिनमै झोला, जुत्ता र स्कुल ड्रेससहित आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको जनाएको छ।

कार्यालयले वैशाख २८ गते करिब दुई लाख बराबरको सामग्री हुम्लास्थित अनलाइन खबरकर्मी नरजङ्ग तामाङलाई हस्तान्तरण गरेको थियो।

त्यसपछि तामाङ र कारखाना मिडियाका उपसम्पादक मनोज बोहरामार्फत वैशाख २९ गते विद्यालय पुगेर विद्यार्थीलाई सामग्री वितरण गरिएको हो।

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी आर्थिक रूपमा कमजोर परिवारका रहेका छन्। शैक्षिक सामग्रीको अभावका कारण उनीहरू पठनपाठनमा कठिनाइ भोग्दै आएका थिए।

सहयोग प्राप्त भएपछि विद्यार्थीमा नयाँ उत्साह थपिएको विद्यालयका प्रधानाध्यापक खडक बहादुर सिंहले जानकारी दिए।

स्थानीय अगुवा जोखे बुढाले सञ्चारमाध्यमले उठाएको विषयमा सरकारी निकायले शीघ्र चासो देखाउँदै सहयोग उपलब्ध गराएकोमा खुसी व्यक्त गरे।

दुर्गम जिल्लाका साना समस्यासमेत बाहिर नआउँदा बालबालिका प्रत्यक्ष प्रभावित हुने भएकाले यस्ता विषय निरन्तर उठान हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार