
सुर्खेतको वीरेन्द्रनगर मा ‘सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेशन (CSE)’ परियोजनाअन्तर्गत स्थानीय प्राविधिक संयन्त्र (LTAM) बैठक सम्पन्न भएको छ ।
बैठकमा शिक्षा क्षेत्रमा कार्यरत नागरिक समाज संस्था, स्थानीय सरकार, शिक्षाविद् तथा सरोकारवालाबीच शिक्षा नीति निर्माण, शिक्षा सुधार तथा सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा डिजिटल नवीनता, मानव–केन्द्रित डिजाइन तथा प्रमाणमा आधारित शिक्षा नीति निर्माणका लागि तथ्याङ्कको प्रभावकारी प्रयोगबारे जोड दिइएको थियो ।
कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशका सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका र लेकबेशी नगरपालिका, मधेश प्रदेशका विभिन्न स्थानीय तह तथा काठमाडौं महानगरपालिका मा सञ्चालन भइरहेका कारखाना समुहका प्रतिनिधि ललितजंग शाहीले जानकारी दिएका थिए ।
बैठकमा ‘जवाफदेही शिक्षाका लागि नागरिक समाज सशक्तीकरण’ कार्यक्रमअन्तर्गत लैङ्गिक समानता, सामाजिक समावेशीकरण, जलवायु शिक्षा, युवा शिक्षा, भाषिक विविधता, निजी क्षेत्र तथा सूचना–प्रविधिसम्बन्धी विषयलाई प्राथमिकतामा राखिएको उनले बताए ।
कार्यक्रममा कर्णाली सिकाइ समूह गठनको उद्देश्य, शिक्षा क्षेत्रमा सहकार्य विस्तार, नीति कार्यान्वयनमा पारदर्शिता अभिवृद्धि तथा शिक्षा सुधारका साझा अभियानबारे पनि चर्चा गरिएको थियो ।
त्यसैगरी, शिक्षा नीति संवाद, शिक्षा बजेट विश्लेषण, मानव–केन्द्रित डिजाइन कार्यशाला, शिक्षा अधिकार अनुगमन, हरित विद्यालय अभियान तथा एआई र डिजिटल उपकरणमार्फत पैरवीसम्बन्धी गतिविधिहरू सञ्चालन गरिएको जानकारी प्रस्तुत गरिएको थियो ।
बैठकमा स्थानीय सरकारसँगको सहकार्यमा विद्यालय शिक्षा क्षेत्र योजना निर्माण, शिक्षा नीति तर्जुमा, बजेट विश्लेषण तथा सामाजिक जवाफदेहितासम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा अगाडि बढाइएको जनाइएको छ ।

कार्यक्रममा शिक्षा क्षेत्र सुधारका लागि तयार गरिएका LEAF Framework, RTE Monitoring Tool, Education Advocacy Guidebook, Social Accountability Research Report तथा Budget Analysis Tool जस्ता उपकरणबारेका विषयमा छलफल भएकाे थियाे ।
यस्तै, गुर्भाकोट नगरपालिका नगरप्रमुख हस्त पुनले शिक्षा क्षेत्रमा नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्यले नीति कार्यान्वयनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने र गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न स्थानीय तह प्रतिबद्ध रहेको उनले भने ।
कारखाना समूहका कार्यकारी निर्देशक सचेत मानन्धरले शिक्षा क्षेत्रमा दीगो सुधारका लागि स्थानीय सरकार, नागरिक समाज र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले तथ्यमा आधारित नीति निर्माण, प्रविधिको प्रयोग र नागरिक सहभागितामार्फत शिक्षालाई थप जवाफदेही तथा प्रभावकारी बनाउन सकिनेसमेत उल्लेख गरे ।
कार्यक्रममा कर्णाली सिकाइ समूहका सदस्यहरू, लेकबेशी नगरपालिका का उपप्रमुख र शिक्षा शाखा प्रमुख तथा गुर्भाकोट नगरपालिका का नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख र नगरशिक्षा समिति प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्