२०८३ जेठ २१ , बिहीबार

प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने



कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने नीति अघि सारेको छ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्न आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयन गरिने बताएका हुन्।

मुख्यमन्त्री कँडेलले प्रतिष्ठान स्थापनाका लागि प्रदेशभित्र तथा बाहिरका अन्य स्वास्थ्य संस्थासँग सहकार्य गरिने जानकारी दिए। प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषय विगतका नीति तथा कार्यक्रममा समेत समेटिँदै आएको भए पनि हालसम्म यसको प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी को स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश सभामुख नन्दा गुरुङ ले मुख्यमन्त्री कँडेललाई प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति दिएकी थिइन्।

प्रदेश सरकारले स्वास्थ्य सेवाको गुणस्तर सुधार, दक्ष जनशक्ति उत्पादन तथा विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने योजना अघि सारेको जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार