सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तलब तालिकाअनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकहरूको तलब वृद्धि गरिएको छ। नयाँ व्यवस्था अनुसार एसएलसी (हालको एसईई) अनुत्तीर्ण शिक्षकहरूको मासिक तलबसमेत ३४ हजार रुपैयाँभन्दा माथि पुगेको छ।

नयाँ तलबमानअनुसार प्राथमिक तहमा कार्यरत दुई विषयभन्दा बढीमा एसएलसी अनुत्तीर्ण शिक्षकले मासिक ३४ हजार ४२६ रुपैयाँ तलब पाउनेछन्। त्यस्तै, दुई विषयसम्म मात्र अनुत्तीर्ण भएका शिक्षकको मासिक तलब ३६ हजार ४४५ रुपैयाँ कायम गरिएको छ।
प्राथमिक तहका एसएलसी उत्तीर्ण शिक्षकमध्ये तृतीय श्रेणीको मासिक तलब ४३ हजार ४२८ रुपैयाँ, द्वितीय श्रेणीको ४८ हजार ३८७ रुपैयाँ र प्रथम श्रेणीको ६० हजार ८७४ रुपैयाँ तोकिएको छ।
निम्न माध्यमिक (निमावि) तहका शिक्षकमध्ये तृतीय श्रेणीका शिक्षकले मासिक ४८ हजार ३८७ रुपैयाँ, द्वितीय श्रेणीका शिक्षकले ६० हजार ८७४ रुपैयाँ र प्रथम श्रेणीका शिक्षकले ६३ हजार ९०४ रुपैयाँ तलब पाउने व्यवस्था गरिएको छ।
माध्यमिक तहका शिक्षकहरूको तलब सबैभन्दा बढी रहेको छ। नयाँ दररेटअनुसार माध्यमिक तृतीय श्रेणीका शिक्षकको मासिक तलब ६० हजार ८७४ रुपैयाँ, द्वितीय श्रेणीका शिक्षकको ६७ हजार ९०७ रुपैयाँ र प्रथम श्रेणीका वरिष्ठ शिक्षकको ७४ हजार ९५८ रुपैयाँ कायम गरिएको छ।
सरकारले उक्त नयाँ तलबमान २०८३ साल साउन १ गतेदेखि लागू हुने गरी निर्धारण गरेको जनाएको छ। साथै, शिक्षकहरूले अन्य निजामती कर्मचारीसरह ग्रेड रकम र वार्षिक तलब वृद्धिपश्चात् कायम हुने तलबको थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि प्राप्त गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
यद्यपि सरकारले शैक्षिक योग्यतासम्बन्धी नीति परिमार्जन गरिसके पनि केही सामुदायिक विद्यालयमा अझै पनि एसएलसी अनुत्तीर्ण शिक्षकहरू प्राथमिक तहमा कार्यरत रहेको अवस्था कायम रहेको देखिएको छ।










