२०८३ असार १ , सोमबार

कर्णाली रास्वपाको नयाँ सभापति को बन्ला ? पाँच नेताबीच मुख्य प्रतिस्पर्धा



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन आइतवार वीरेन्द्रनगरस्थित शुभ होटलमा हुँदैछ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको रास्वपाले जनाएको छ। रास्वपा कर्णालीका सभापति मदन खड्काका अनुसार अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री भूपदेव शाहले गर्ने कार्यक्रम रहेको छ।

अधिवेशनमा कर्णालीका विभिन्न जिल्लाबाट करिब पाँच सय बढी कार्यकर्ता तथा समर्थक सहभागी हुने आँकलन गरिएको छ। अधिवेशनले नयाँ प्रदेश नेतृत्व चयन गर्ने भएकाले नेतृत्वका आकांक्षीहरूबीच प्रतिस्पर्धा चर्किएको छ।

पार्टी स्रोतका अनुसार प्रदेश सभापतिका लागि वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा, नन्दकिशोर बस्नेत (एनके) र मानबहादुर शाही गरी ५ जनाले निकै दौडधुप गरिरहेका छन्।

पार्टीभित्रको आन्तरिक मूल्याङ्कनमा नन्दकिशोर बस्नेत, स्नेहा उपाध्याय, प्रेम बोहरा र मदन खड्कालाई बलिया दाबेदारका रूपमा हेरिएको स्रोतको दाबी छ। उनीहरू मध्ये एकजना सभापतिमा निश्चित भएको रास्वपा कर्णालीका एक पदाधिकारीले जानकारी दिए।

‘लोकतन्त्र हो दाबी गर्न त सबैले मिल्छ तर अन्तिममा हुने भनेको यी चार जना मध्ये एकजना हो।,’ ती पदाधिकारीले कारखाना मिडियासँग भने। यता वर्तमान प्रदेश सभापति मदन खड्काले सभापति पदमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन्। उनले अहिलेसम्म आफूबाहेक कसैले औपचारिक रूपमा सभापतिको आकांक्षा व्यक्त नगरेको दाबी गरे।

‘म वर्तमान सभापति पनि हुँ। अहिलेसम्म मसँग कसैले पनि ‘म सभापति हुने हो’ भनेर आकांक्षा देखाउनुभएको छैन,’ उनले भने, ‘भोलिको अधिवेशनले सबै कुरा स्पष्ट पार्नेछ।,’ यस्तै महिला नेत्री उपाध्यायले पनि सभापतिमा आफ्नो दाबी स्वभाविक रहेको बताइन्। आफू राजनीतिकदेखि सबै कुरामा पोख्त रहेको बताउँदै आफ्नै सभापति हुनुपर्ने बताइन्।

प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार