राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी डा. अछुतम लामिछानेलाई मात्र २ मतले पराजित गर्दै नेतृत्वको जिम्मेवारी सम्हालेका हुन्।
अन्तिम मतपरिणामअनुसार अर्यालले ४१६ मत प्राप्त गर्दा लामिछानेले ४१४ मत पाएका थिए। बागमती प्रदेश अधिवेशनमा सहभागी केन्द्रीय सदस्य मधुसुधन ढकालका अनुसार मतगणनाको अन्तिम परिणामले अर्याललाई विजयी घोषणा गरेको हो।
प्रदेश नेतृत्वका लागि भएको निर्वाचनमा सुरुदेखि नै अर्याल र लामिछानेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। अन्तिम मतपरिणामले पनि दुवै उम्मेदवारबीचको प्रतिस्पर्धा अत्यन्तै रोमाञ्चक रहेको पुष्टि गरेको छ।
अधिवेशनअघि सभापति पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर मतदानअघि दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर अर्याललाई समर्थन गरेका थिए।
मकवानपुरका अर्याल यसअघि रास्वपा बागमती प्रदेश कमिटीका प्रवक्ताको जिम्मेवारीमा थिए। पराजित लामिछाने भने नुवाकोट–२ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा रास्वपा बागमतीका निवर्तमान सभापति हुन्।










प्रतिक्रिया दिनुहोस्