सुर्खेतको भेरीगंगा नगरपालिका–१३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन अध्यक्ष लोकबहादुर महतारा, सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढाविरुद्ध सार्वजनिक सम्पत्तिको हिनामिना तथा दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारले तीनै जनाले आपसी मिलेमतोमा सामुदायिक वनको सम्पत्तिमा हिनामिना गरी नेपाल सरकार तथा सार्वजनिक संस्थालाई ७ लाख १५ हजार ९१६ रुपैयाँ ५ पैसा बराबरको हानि पुर्याएको अनुसन्धानबाट पुष्टि भएको छ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७७/७८ मा कटान गरी २०७८/७९ मा चिरान गरिएको काठ बिक्री गर्दा वास्तविक आम्दानीभन्दा ९५ हजार ११८ रुपैयाँ ८० पैसा कम आम्दानी देखाइएको पाइएको छ। त्यस्तै, काठ चिरानी खर्चमा वास्तविक खर्चभन्दा ३ लाख ६६ हजार ९१६ रुपैयाँ ५ पैसा बढी खर्च देखाइएको आयोगले जनाएको छ।
यसैगरी वन हेरालुको पारिश्रमिक शीर्षकमा वास्तविक खर्चभन्दा ९० हजार रुपैयाँ बढी भुक्तानी देखाउँदै झुट्टा भरपाई तयार गरिएको, समितिको विधान संशोधनका लागि काठमाडौं जाँदा तत्कालीन अध्यक्ष महताराले खर्च गरेको भनिएको १ लाख २० हजार रुपैयाँको आधार खुलाउन नसकेको तथा घरभाडा शीर्षकमा ४४ हजार रुपैयाँ बराबरको झुट्टा बिल तथा भरपाई पेश गरिएको अनुसन्धानबाट खुलेको छ।
आयोगले यी कार्यबाट सार्वजनिक सम्पत्तिको हिनामिना भएको निष्कर्ष निकाल्दै तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम ७ लाख १५ हजार ९१६ रुपैयाँ ५ पैसा बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।










प्रतिक्रिया दिनुहोस्