भारत अहिले उथलपुथलबाट मुस्किलले बचेको छ । तैपनि, भावनाको भर हुँदैन, यो जुनसुकै वेला बग्न सक्छ । निराशा अब क्रान्तिकारी घोषणापत्र बोकेर आउँदैन । यो मिम पोसाक लगाएर र इन्स्टाग्राममा रिलमार्फत आउँछ । साँच्चै असहज प्रश्न यो हो कि साङ्लो अभियानले किन धेरै युवाको ध्यानाकर्षण गर्न सफल भयो ?
भारतीय राजनीतिमा सधैँ बेतुकका कुरालाई सार्वजनिक मनोरञ्जनमा रूपान्तरण गर्ने उल्लेखनीय प्रतिभा छ । दल परिवर्तन रोक्न विलासी रिसोर्टमा लुक्ने सांसद, चुनावको वेला हिमालयका गुफाभित्र ध्यानमा रमाउने राजनीतिज्ञ र व्यावसायिक कुस्तीजस्तै टेलिभिजन बहस देख्ने देशले अब लोकतान्त्रिक निराशाका लागि नयाँ मस्कट पत्ता लगाएको छ, साङ्लो । तथाकथित साङ्लो जनता पार्टी (सिजेपी)को उदयले एउटा घृणित किरा कसरी युवा क्रोध, राजनीतिक थकान र व्यंग्यको नवीन प्रतीक बन्न सक्छ भन्ने पुष्टि गरेको छ ।
मिम संस्कृति र वैचारिक विद्रोहबिच भारतको नयाँ डिजिटल अभियानले आधुनिक लोकतन्त्रबारे केही असहज कुरा उजागर गरेको छ । कहिलेकाहीँ नागरिकलाई अब दूषित राजनीतिक प्रणालीलाई मर्मत गर्न सकिँदैन भन्ने लाग्छ, त्यसैले तिनीहरू रचनात्मक रूपमा ती प्रणालीको खिल्ली उडाउन थाल्छन् । अनि माध्यम बन्छ सामाजिक सञ्जाल । सिजेपीको उदय सुरुमा इन्टरनेट मजाकजस्तो देखिन्थ्यो । बोस्टन विश्वविद्यालयका विद्यार्थी र कुनै वेला आम आदमी पार्टीनिकट अभिजित दीपकले खडा गरेको अनलाइन अभियान रातारात भाइरल भयो ।
सदस्यताका लागि आवश्यक क्राइटेरियामा बेरोजगारी, दीर्घकालीन रूपमा आलश्य, जतिखेर पनि अनलाइनमा झुन्डिने र सबै कुराका बारेमा गुनासो गर्ने आदत थियो, जुन प्रायः भारतीय युवामा देखिन्छ । सिजेपीको सामाजिक सञ्जाल पृष्ठले आन्दोलनलाई जिद्दी, राजनीतिक रूपमा निराश मानिसहरूको भेलाको रूपमा वर्णन गर्यो । घोषणापत्रको सट्टा त्यहाँ मिम थिए । विचारको सट्टा बेरोजगारी, भ्रष्टाचार, र भावनात्मक थकानबारे मजाक थिए । त्यो मजाक बेवास्ता गर्न हम्मेहम्मे भयो ।
केही दिनमै लाखौँले अनलाइन आन्दोलनलाई पछ्याए । ‘म पनि साङ्लो हुँ’ ह्यासट्याग सामाजिक सञ्जालमा भाइरल भयो । अखिलेश यादव, महुआ मोइत्रा, कीर्ति आजाद र प्रशान्त भूषणजस्ता दिग्गज विपक्षी राजनीतिज्ञले अभियानलाई समर्थन गरे ।
युवाले विरोधस्थल र सरसफाइ अभियानमा साङ्लो पोसाक लगाएर राजनीतिज्ञको मजाक गरे । इन्स्टाग्राममा फलोअर्सको संख्या करोड नाघेर भाजपाको अकाउन्टलाई उछिन्यो । आलोचकले आम आदमी पार्टीसँग दीपकेको पहिलेको सम्बन्ध औल्याउँदै कक्रोच आन्दोलनलाई विपक्षी राजनीतिसँग जोडे । तर, समर्थकले ती आरोप खारेज गरे र आन्दोलनले युवा निराशालाई प्रतिबिम्बित गरेको तर्क गरे । सिजेपीको महत्व यो अभियान वास्तविक राजनीतिक संगठन बन्छ कि बन्दैन भन्नेमा निहित छैन । यसको महत्व यो तथ्यमा निहित छ कि लाखौँ युवाले आफूलाई साङ्लोको प्रतीकका रूपमा ढालेका छन् । यो रूपान्तरण मननयोग्य छ ।
भारत विश्वको सबैभन्दा द्रुत गतिमा बढेको मुख्य अर्थतन्त्रमध्ये एक हो । तैपनि यहाँका युवाले बेरोजगारी, काममा अनिश्चितता, बढ्दो जीवनयापन लागत, शैक्षिक दबाब र असमानताको सामना गरिरहेका छन् । भारतका १.४ अर्ब नागरिकहरूमध्ये लगभग आधा ३० वर्षमुनिका छन्, तर राजनीतिक दलहरूमा औपचारिक युवा सहभागिता उल्लेखनीय रूपमा सीमित छ । बारम्बार वास्तविक निर्णय लिने प्रक्रियाबाट संरचनात्मक रूपमा बहिष्कृत भारतीय युवामा व्यापक राजनीतिक चेत बढेको छ ।
सुनुवाइको क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले विवादास्पद टिप्पणी व्यक्त गरेपछि आन्दोलनले थप गति लियो । अवसरवादी सक्रियता मानेको कुरामा निराशा व्यक्त गर्दै उनले केही बेरोजगार युवा, सामाजिक सञ्जाल कार्यकर्ता, मिडियाकर्मी र आरटिआई अभियानकर्तालाई जताततै फैलिएका र संस्थाहरूमा आक्रमण गर्ने साङ्लासँग तुलना गरे । यद्यपि, उनले आफ्नो भनाइ जेहेन्दार युवालाई भन्दा नक्कली प्रमाणपत्र भएका मानिसतर्फ लक्षित रहेको स्पष्टीकरण दिए ।
तर, उनको अभिव्यक्तिले धेरै असर गरिसकेको थियो । आजको इन्टरनेट युगमा स्पष्टीकरण पैदल यात्रा गर्दछ जबकि आक्रोश रकेटबाट यात्रा गर्दछ । युवा भारतीयले अपमानलाई कब्जा गरे र प्रतीकात्मक रूपमा पुनः प्रयोग गरे । अहिले धेरैजसो युवा घोषणापत्रभन्दा मिम्सप्रति बढी विश्वास गर्छन् । परम्परागत राजनीतिले उनीहरूलाई दिक्क बनाएको छ । हरेक पार्टीले विकास, राष्ट्रवाद, सामाजिक न्याय, भ्रष्टाचारविरोधी सुधार र आर्थिक समानताको वाचा गर्छन् । तैपनि लाखौँ शिक्षित युवाले स्थिरताको सुनिश्चितता नगर्ने डिग्री सर्टिफिकेट बोकेर लामो समयसम्म आमाबाबुमा निर्भर रहँदै रोजगारसम्बन्धी वेबसाइट स्क्रोल गर्छन् ।
स्थिर र आशावादी समाजमा कसैले पनि किराको प्रतीकात्मक रूपमा विरोध गर्दैन । यो केवल भ्रष्ट र अनियमित समाजमा हुन्छ । यसबारे दक्षिण एसियाले ध्यान दिनुपर्छ किनभने यो ढाँचा भारतभन्दा बाहिर फैलिएको छ । श्रीलंका, नेपाल र बंगलादेशमा निराशा कति छिटो राजनीतिक संकटमा परिणत हुन सक्छ भनेर युवाप्रेरित अशान्तिले पहिले नै देखाइसकेको छ ।
राजनीतिक जटिलता र बलियो आर्थिक प्रदर्शनका कारण भारत अहिले उथलपुथलबाट मुस्किलले बचेको छ । तैपनि, भावनाको भर हुँदैन, यो जुनसुकै वेला बग्न सक्छ । निराशा अब क्रान्तिकारी घोषणापत्र बोकेर आउँदैन । यो मिम पोसाक लगाएर र इन्स्टाग्राममा रिलमार्फत आउँछ । साँच्चै असहज प्रश्न यो हो कि साङ्लो अभियानले किन धेरै युवाको ध्यानाकर्षण गर्न सफल भयो ?
दक्षिण एसियाली युवाहरूको ठुलो समूह निरन्तर दौडधुप गर्छन्, चुपचाप अपमान सहन्छन् र आफ्ना आकांक्षाहरूप्रति संरचनात्मक रूपमा उदासीन देखिने वातावरणमा अगाडि बढिरहन्छन् । सिजेपी अन्ततः यसको अगाडि अनगिन्ती भाइरल प्रवृत्तिजस्तै गायब हुन सक्छ । यसको इन्स्टाग्राम खाता बन्द हुन सक्छ । यसका समर्थकहरू अर्को महिना अर्को मजाकमा लाग्न सक्छन् । तैपनि यसलाई उत्पन्न गर्ने अवस्था जीवित रहनेछन् ।
विडम्बनाको कुरा के छ भने, स्थापित राजनीतिक दलहरूले सिजेपीले हासिल गरेको कुराको ईर्ष्या गर्न सक्छन् । वर्षौँदेखि, भारतका प्रमुख दलहरूले डिजिटल आउटरिच टोली, प्रभावकारी नेटवर्क र जैविक देखिन डिजाइन गरिएका एल्गोरिदममैत्री अभियानमा विशाल स्रोत लगानी गरेका छन् ।
तैपनि, एक सुधारिएको साङ्लो आन्दोलनले पार्टीको महँगो राजनीतिक अभियानले उत्पादन गर्नेभन्दा बढी भावना उत्पन्न गर्यो । यसले नयाँदिल्लीका प्रत्येक रणनीतिज्ञलाई चिन्तित बनाएको हुनुपर्छ । जब व्यंग्य नीतिभन्दा बढी प्रेरक हुन्छ, लोकतान्त्रिक सञ्चार खतरनाक क्षेत्रमा प्रवेश गर्छ ।
यसको अर्थ भारत अहिले नै विद्रोहको किनारमा उभिएको छैन । अनलाइन ऊर्जा विरलै संगठनात्मक शक्तिमा राम्रोसँग रूपान्तरण हुन्छ । संस्थाभन्दा ह्यासट्यागहरू सिर्जना गर्न सजिलो हुन्छ । इन्टरनेट आक्रोश प्रायः व्याकुलतामा गायब हुनुअघि चम्किलो रूपमा जल्छ ।
तैपनि, सिजेपीलाई अर्थहीन कमेडीको रूपमा खारेज गर्नु बौद्धिक रूपमा अल्छी हुनेछ । हास्यले प्रायः समाजको अनौपचारिक निदान उपकरणको रूपमा काम गर्दछ । मिम्स, पोसाक र किराहरूको कल्पनामुनि एक पुस्ताले सोधिरहेको छ कि के लोकतान्त्रिक प्रणालीले अझै पनि आफ्नो चिन्ता, महत्वाकांक्षा र थकानलाई चिन्छ ?
(ढाका ट्रिब्युनमा प्रकाशित ढाकास्थित प्राज्ञिक, पत्रकार तथा राजनीतिक विश्लेषक एचएम नजमुल आलमको आलेखलाई सुभाष शर्माले अनुवाद गरेका हुन् ।)










प्रतिक्रिया दिनुहोस्