२०८३ साउन १३ , बुधबार

कर्णालीका मुख्यमन्त्री म‌गल बहादुर शाहीले गरे पदभार ग्रहण, यस्ता छन् निर्णयहरु



कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणसँगै मुख्यमन्त्री शाहीले प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेका विकास आयोजनाहरूको प्रगति विवरण सहज रूपमा देख्न सकिने गरी आयोजना ट्र्याकिङ सिस्टम स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेका छन्।

उक्त प्रणालीमार्फत प्रदेशका विकास आयोजनाको कार्यप्रगति, कार्यान्वयन अवस्था तथा उपलब्धिको नियमित अनुगमन र मूल्याङ्कन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, शासकीय सुधारका नयाँ तथा नवप्रवर्तनीय औजारको प्रयोगमार्फत सेवा प्रवाहमा सुधार गर्ने सम्बन्धमा आवश्यक नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने निर्णय पनि गरिएको छ।

मुख्यमन्त्री शाहीले सबै प्रकारका विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गर्ने तथा विपद्का बेला तत्काल उद्धार र प्रतिकार्यका लागि क्विक रेस्पोन्स लगायतका कार्यलाई प्राथमिकता दिने निर्णय गरेका छन्।

नवनियुक्त मुख्यमन्त्री शाहीले पदभार ग्रहणकै दिन विकास आयोजनाको प्रभावकारी अनुगमन, शासकीय सुधार, सेवा प्रवाहको गुणस्तर वृद्धि तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै तीनवटा महत्त्वपूर्ण निर्णय गरेका हुन्।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।