
नेपाली कांग्रेस कठिन अवस्थामा पुगेको छ भन्ने धारणा पछिल्लो समय केही राजनीतिक वृत्तमा सुनिँदै आएको छ। तर कांग्रेस नेतृत्व र समर्थकहरू भने पार्टी संकटमा नभई रूपान्तरणको मोडमा रहेको दाबी गर्छन्। उनीहरूका अनुसार नेपाली कांग्रेस आज पनि लोकतन्त्रको संस्थागत शक्ति र ऐतिहासिक जिम्मेवारी बोकेको दलका रूपमा नेपाली जनताको सामु उभिएको छ। राजनीतिक विश्लेषकहरू भन्छन् ।
सामाजिक सञ्जालको क्षणिक लोकप्रियता र असन्तुष्ट भावनाबाट बनेका मतहरूले तत्काल चर्चा पाउन सक्छन्, तर दीर्घकालीन रूपमा लोकतान्त्रिक मूल्य, संगठनात्मक संरचना र संस्थागत शक्तिका अगाडि ती टिक्न सक्दैनन्।
यही कारण लोकतन्त्रप्रति प्रतिबद्ध दलहरू आत्मविश्वासका साथ अघि बढ्नुपर्ने समय आएको उनीहरूको निष्कर्ष छ। हालै सम्पन्न महाधिवेशनबाट ध्वनी मतका आधारमा नयाँ कार्यसमिति चयन भइसकेको छ।
साथै, निर्वाचन आयोगले सो कार्यसमितिलाई अध्यावधिक गर्ने निर्णय गरिसकेको छ। यस्तो अवस्थामा पार्टीभित्र मौन रहेका नेता तथा कार्यकर्तालाई ऊर्जावान, नवीन र रूपान्तरणमुखी कांग्रेससँग उभिनुपर्ने आवाज उठ्न थालेको छ। कांग्रेसका समर्थकहरू स्मरण गराउँछन् ।
यदि पार्टीका संस्थापक नेता सुवर्णशम्शेर, बी.पी. कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई आज जीवित हुन्थे भने, उनीहरू पनि समयअनुसारको रूपान्तरणको पक्षमै उभिनुहुन्थ्यो। इतिहास हेर्दा कांग्रेस प्रत्येक राजनीतिक परिवर्तन र आन्दोलनपछि आफूलाई रूपान्तरण गर्दै आएको र आज पनि राष्ट्रका अगाडि बलियो तथा ओजपूर्ण राजनीतिक दलका रूपमा उभिएको उनीहरूको दाबी छ।
निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्र ‘अब के गर्ने ?’ भन्ने अन्योलमा बस्नु उपयुक्त नहुने नेताहरूको धारणा छ। पार्टी बलियो भए कार्यकर्ता बलियो हुन्छन्, र कार्यकर्ता बलियो भए लोकतन्त्र पनि स्वतः बलियो हुन्छ। कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारणसहित माग गरेमा विशेष महाधिवेशन बोलाउनै पर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै, ‘पर्ने छ’ भनेर लेखिएको अवस्थामा अदालत जाने–नजाने बहसको खासै औचित्य नरहेको तर्क गरिँदै आएको छ।
यसैबीच, निष्ठावान नेताका रूपमा चिनिएका पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गर्नुले राजनीतिक वृत्तमा चर्चा पाएको छ। कांग्रेस समर्थकहरूको एक धारणा अनुसार सर्वोच्च अदालतले अब हेर्ने विषय निर्वाचन आयोगको निर्णय मात्र हुने र विधानको व्याख्यामा प्रवेश नगर्ने सम्भावना बढी छ। त्यसैले आयोगको निर्णय सदर गर्दै रिट खारेज हुन सक्ने आँकलन गरिएको छ।
यस्तो पृष्ठभूमिमा सुर्खेत कांग्रेसका नेता–कार्यकर्तालाई चारतारे झण्डा र रुख चिन्हको छायाँमा, गगन थापाको नेतृत्वमा अघि बढिरहेको ‘नवीन कांग्रेस’को पक्षमा उभिन आह्वान गरिएको छ। पार्टीभित्र अनावश्यक विवाद र भ्रम सिर्जना गर्ने गतिविधि रोकिनुपर्नेमा जोड दिइएको छ।
विशेष महाधिवेशन : विद्रोह होइन, पुनर्जागरण
कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ। नेताहरूका अनुसार आजको आवश्यकता पार्टीभित्र नेतृत्वको पुस्तान्तरण हो, जसका लागि विशेष महाधिवेशन अपरिहार्य बनेको छ। उनीहरू भन्छन् । यो कुनै व्यक्ति विशेषको महत्वाकांक्षा होइन, बरु लाखौँ कांग्रेस कार्यकर्ता र समर्थकको साझा आवाज हो। विशेष महाधिवेशन आवश्यक हुनुका कारणहरू पनि सार्वजनिक रूपमा प्रस्तुत गरिँदै आएका छन्।
पहिलो, पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोप छ। निर्णय प्रक्रिया केही सीमित व्यक्ति र गुटको वरिपरि केन्द्रित हुँदा कार्यकर्ताको भावना सुन्ने संरचना कमजोर भएको उनीहरूको विश्लेषण छ। विशेष महाधिवेशनले आन्तरिक लोकतान्त्रिक अभ्यास पुनर्जीवित गर्ने अपेक्षा गरिएको छ।
दोस्रो, लगातारको चुनावी पराजयबाट पाठ सिक्ने र आत्मसमीक्षा गर्ने साहस कांग्रेसले अझै पर्याप्त रूपमा देखाउन नसकेको आरोप छ। हारको जिम्मेवारी कसले लिने र आत्मसमीक्षा कहिले गर्ने भन्ने प्रश्नको उत्तर विशेष महाधिवेशनमार्फत खोजिनुपर्ने नेताहरूको भनाइ छ।
तेस्रो, युवा मतदाता कांग्रेसबाट क्रमशः टाढिँदै गएको संकेत देखिन थालेको छ। आजको राजनीति सामाजिक सञ्जाल, पारदर्शिता, जवाफदेहिता र परिणामसँग जोडिएको हुँदा पुरानै शैलीले नयाँ पुस्तालाई आकर्षित गर्न नसक्ने विश्लेषण गरिएको छ। त्यसका लागि युवामैत्री, ऊर्जावान र उत्तरदायी नेतृत्व आवश्यक ठानिएको छ।
चौथो, सरकारमा सहभागी हुँदाहुँदै पनि पार्टी कमजोर देखिनु गम्भीर चिन्ताको विषय भएको नेताहरू बताउँछन्। सत्तामा रहेर पनि आफ्ना एजेन्डा स्थापित गर्न नसक्नु नेतृत्व संकटको संकेत भएको र यसको समाधान संरचनात्मक सुधारबिना सम्भव नहुने उनीहरूको निष्कर्ष छ।
यही कारणले गगन थापा र विश्वप्रकाश शर्माको आवाज केवल उनीहरूको व्यक्तिगत आवाज होइन। यो आवाज हो ।
- गाउँ तहका साधारण कार्यकर्ताको
- आशामा बसेका युवाको
- कांग्रेसप्रति अझै भरोसा बाँकी राखेका लाखौँ नेपालीको।
विशेष महाधिवेशन कुनै विद्रोह होइन; यो कांग्रेसको पुनर्जागरण हो। अब यसलाई आत्मसात गर्नुको विकल्प छैन।
नविन देवकोटा









