कर्णाली प्रदेशसभाको सामाजिक विकास समिति हिउँदे अधिवेशन सम्पन्न भएको छोटो समयमै पुनः सक्रिय बनेको छ। समितिले विभिन्न विधेयक तथा समसामयिक विषयमा छलफल अगाडि बढाएको छ।
बुधबार समितिले ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’माथि प्रारम्भिक छलफल सुरु गरेको हो। उक्त विधेयक चैत १५ गते बसेको प्रदेशसभाको बैठकले थप अध्ययनका लागि समितिमा पठाएको थियो।
सामाजिक विकास समितिका सदस्य सचिव तथा प्रदेशसभा सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार विधेयकमाथि ११ जना प्रदेशसभा सदस्यहरूले संशोधन प्रस्ताव दर्ता गरेका छन्।
संशोधन प्रस्तावकर्ताहरू अधिकांश गृह जिल्ला गएकाले विस्तृत छलफल वैशाखको दोस्रो साताबाट सुरु गर्ने कार्यतालिका तय गरिएको छ। उनले संशोधनकर्ताहरू समयअघि नै प्रदेश राजधानी फर्किएमा जुनसुकै बेला पनि छलफल अघि बढाउन सकिने जानकारी दिए।
यसैबीच, समितिले प्रदेश अस्पतालको प्रयोगशालासम्बन्धी विषयमा पनि छलफल गरेको छ। अघिल्लो अधिवेशनमा प्रदेश अस्पतालका कर्मचारीको मिलेमतोमा निजी क्लिनिकका ल्याब परीक्षण निःशुल्क रूपमा गरिएको आरोप उठेको थियो।
उक्त आरोपबारे सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले स्पष्ट पार्दै यस्तो आरोप सत्य नभएको बताएका छन्। उनले प्रदेश अस्पतालमा निजी अस्पतालका परीक्षण नगरिएको जानकारी दिएका छन्।










प्रतिक्रिया दिनुहोस्