कर्णाली नदीमा गाडीसहित बेपत्ता भएका चालक तथा गाडीधनी तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शनिबार बिहान अछामको तुर्माखाँद गाउँपालिका–२, जमगडास्थित कर्णाली नदी किनारमा सुवेदीको शव भेटिएको हो। उनका बुवाले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवणकुमार विकले जानकारी दिए।
सुर्खेतको पञ्चपुरी नगरपालिका–८, माझीगाउँ निवासी सुवेदीले चलाएको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी असार १८ गते बिहान करिब ११:३० बजे सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गतेडा क्षेत्रमा कर्णाली राजमार्गबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।
दुर्घटनाकै दिन भीरमा अड्किएको अवस्थामा कालीकोटको पचालझरना गाउँपालिका–९ का जेखे तिरुवाको उद्धार गरिएको थियो। उनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि बेपत्ता भएका अन्य यात्रुमध्ये पचालझरना गाउँपालिका–९ कै मेघे तिरुवाको शव असार २२ गते कैलालीको मोहान्याल गाउँपालिका–६, सुङ्गरखाल–सोल्टा नजिक कर्णाली नदी किनारमा फेला परेको थियो।
त्यसैगरी असार २३ गते सुर्खेतको चौकुने गाउँपालिका–४, डङ्डगेस्थित कर्णाली नदीमा रास्कोट नगरपालिका–२, कालीकोटका १८ वर्षीय सिर्जना खड्काको शव भेटिएको थियो।
दुर्घटनामा बेपत्ता भएका सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। उनको खोजी कार्य जारी छ।








