म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन्। मतगणना सम्पन्न भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गर्न बाँकी रहेको छ।
पुन आफ्नो जन्मथलो म्याग्दीबाट चुनाव लड्न आएका थिए। उनले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत पहल गर्ने तथा विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउने विषयलाई प्रमुख एजेन्डा बनाएका थिए।
यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन्।
म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।








