२०८३ साउन १२ , मंगलबार

दैलेख–१ मा एनके बस्नेत र दैलेख–२ मा बखतबहादुर शाहीलाई रास्वपाको उम्मेदवार



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दैलेखका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार चयन गरेको छ।

गएराति काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले दैलेख निर्वाचन क्षेत्र नम्बर १ का लागि नन्दकिशोर बस्नेत (एनके) र क्षेत्र नम्बर २ का लागि बखतबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

दैलेख क्षेत्र नम्बर १ का उम्मेदवार नन्दकिशोर बस्नेत अघिल्लो शनिबार मात्रै रास्वपामा प्रवेश गरेका थिए। यसअघि उनी नेकपा (एमाले) बाट सोही क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस भएका थिए।

तर एमालेबाट टिकट नपाएपछि उनले रास्वपामा प्रवेश गरेका हुन्। बस्नेत दैलेख जिल्लामा परिचित व्यक्तित्वका रूपमा चिनिन्छन्।

यस्तै, दैलेख क्षेत्र नम्बर २ बाट टिकट पाएका बखतबहादुर शाही नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्व कार्यकारी प्रमुख हुन्। हाइड्रोपावर क्षेत्रमा चर्चित शाहीले गत असोज महिनामा आफ्नो पदबाट राजीनामा दिएका थिए।

अन्य दलतर्फ, दैलेख क्षेत्र नम्बर १ मा एमालेबाट रविन्द्रराज शर्मा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अम्मरबहादुर थापाले टिकट पाएका छन्।

क्षेत्र नम्बर २ मा एमालेबाट लक्ष्मी पोखरेल र नेकपाबाट योगेन्द्र शाही उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसले भने दुवै क्षेत्रमा उम्मेदवारको टुङ्गो अझै लगाएको छैन।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।