कर्णाली प्रदेश सरकारले सुरु गरेको घर बिमा कार्यक्रम अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिकामा २४६९ घरधुरीले पहिलो चरणमै बिमा सुविधा पाएका छन्।
प्रदेश सरकारले प्राकृतिक विपद्, आगलागी, बाढी पहिरो लगायतका जोखिमबाट हुने क्षति न्यूनीकरण गर्दै नागरिकको सम्पत्तिलाई सुरक्षित गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि घर बिमा योजना अघि सारेको हो।
बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीका अनुसार कर्णाली प्रदेशजस्तो प्राकृतिक विपद् जोखिम बढी हुने क्षेत्रमा घर बिमाले स्थानीयवासी लाई ठुलो राहत दिन थालेको छ।
बराहतालका बीमित घरधुरीले अधिकतम २० लाख रुपैयाँसम्मको बिमा सुविधा पाउनेछन्। सो रकमभन्दा बढी हुने बिमा खर्च भने घरधनी स्वयंले व्यहोर्नुपर्ने व्यवस्था कार्यविधिमा छ। गाउँपालिकाले घर बिमा योजनालाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने प्रतिबद्धता पनि जनाएको छ।

गाउँपालिकाका अध्यक्ष भण्डारीले बिमा जस्ता कार्यक्रमले विपद् हुँदा नागरिकले भोग्नुपर्ने आर्थिक भार कम गराउने भएकाले यसलाई थप विस्तार गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन्।
प्रदेश सरकारले यो योजनालाई थप व्यवस्थित बनाउन आगामी वर्षमा अझ बढी घरधुरीलाई समेट्ने बताइएको छ। घर बिमाले भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ लगायतका जोखिमबाट घरमा हुने क्षति कभर गर्नेछ।











प्रतिक्रिया दिनुहोस्