अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकामा ढुङ्गा, बालुवा तथा गिट्टी उत्खनन ठेक्कामा अनियमितता गरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य र निर्माण व्यवसायी सुवास कार्कीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि दिइएको ठेक्कामा २२ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व हिनामिना भएको अख्तियारको दाबी छ ।
अनुसन्धानका क्रममा आचार्य र आर.के. कन्स्ट्रक्सनका सञ्चालक कार्कीबीच मिलेमतो गरी बैंक ग्यारेन्टी नलिई तथा नियमअनुसार बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) समेत दाखिला नगरी सम्झौता गरिएको खुलेको आयोगले जनाएको छ ।
सम्झौताअनुसार उठेको रकम सरकारलाई नबुझाई गाउँपालिकालाई हानी–नोक्सानी पुर्याएको पुष्टि भएपछि दुवैलाई प्रतिवादी बनाइएको हो ।
अख्तियारले दुवैसँग जनही २२ लाख ४४ हजार ५०० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सोही बराबर जरिवाना र कैद सजायको माग गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त मुद्दा विशेष अदालतमा दर्ता भइसकेको छ ।











प्रतिक्रिया दिनुहोस्